२१ बैशाख २०८१, शुक्रबार

कृषिमा प्रोत्साहन र प्रवद्र्धनका लागि अनुदान कार्यक्रम


बुटवल, २ जेठ । (बुटवल उपमहानगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्न चाहनेका लागि अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई कृषिमा आकर्षण गर्दै व्यावसायीकरण गर्न मद्दत पु¥याएको छ ।

अहिले महामारीले कृषिकर्ममा धेरैको आकर्षण बढाइरहेका बेलामा बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै शहरी कृषि प्रवद्र्धनका नमूना कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोगदेखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका काम भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । शहरी कृषि कार्यक्रमअन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानमा हौसला बढ्दै गएको र शहरमा पनि जैविक उत्पादनको माग बढिरहेको बुटवलको तथ्यांकमा छ ।

कृषि कर्म गर्ने सोचमा रहेका तर जमीन नभएकालाई जग्गा भाडामा लिएर खेती गर्नका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको बताउँदै प्रमुख सुवेदीले शहरका बस्तीबाहेकका क्षेत्रमा कृषि प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उपमहानगरपालिकाले आव २०७५/०७६ देखि नै बुटवलका बाँझो जग्गाको सदुपयोग गरी कृषि उपजको उत्पादकत्व वृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको छ ।

उत्पादनका आधारमा अनुदान दिनका लागि उपमहानगरका कृषि विकास शाखाका प्रमुख सन्तोष जिसीको नेतृत्वमा प्रस्तावित क्षेत्रको अनुगमन हुँदै आएको छ । गत वर्ष २५ जनाले जग्गा भाडामा लिएर खेती गर्दै आएका छन् । यस वर्ष लकडाउन अवधिमा मात्रै १३ जनाले जग्गा भाडामा लिएर खेती गर्ने भनी सम्झौता गरिसकेको कृषि विकास शाखा प्रमुख जिसीले जानकारी दिनुभयो । तोकिएको जग्गामा तोकिएकै क्षेत्रफलमा कृषि बाली लगाएपछि मात्रै प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको जिसीको भनाइ छ । कम्तीमा चारदेखि २२ कट्टासम्म जग्गामा खेती गर्नेगरी सम्झौता भएको छ । प्रतिकट्टा रु एक हजारका दरले भाडामा अनुदान दिइएको छ ।

जग्गा भाडामा लिएर खेती गर्नुभएका बुटवल–११ नहरपुरका किसान आत्माराम सापकोटाले लकडाउनकै अवधिमा झण्डै एक हजार क्वीन्टल टमाटर मात्रै बिक्री गरिएको बताउनुभयो । सापकोटालाई त्यस टोलको नमूना किसानका रुपमा लिइन्छ । बुटवलले शुरु गरेको किसानमैत्री कार्यक्रमले सम्बन्धित जग्गाधनी तथा उत्पादक दुवैलाई हौसला मिलेको वडा नं १८ का कृषक रोमाकान्त खरालले वताउनुभयो ।

ग्रीन हाउसमा सहयोग र जैविक मलमा प्रोत्साहन
जग्गा भाडामा लिएका किसानले मौसमी, बेमौसमी तरकारी खेती र मसला बाली लगाउँदै आएका छन् । जग्गा भएका ठाउँमा बेमौसमी तरकारीका रुपमा कांँक्रा, करेला, सिमी, बोेडी, लौका, घिराँैला, भन्टा, टमाटर, काउली, खुर्सानी, च्याउ खेतीजस्ता खेतीको प्रवद्र्धन गरिएको छ ।

हरितगृह निर्माण गरेर किसानलाई व्यावसायिक उत्पादनमा आकर्षित गरिएको बताउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उत्पादित तरकारीमा सकभर जैविक मलको प्रयोग गर्न लागाइएको जानकारी दिनुभयो । आउँदो वर्ष प्राङ्गारिक उत्पादन र जैविक मलमा समेत थप अनुदानको व्यवस्था गर्नेबारे छलफल भइरहेको उहाँको भनाइ छ ।

यस्तै उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जग्गा नहुनेलाई कौसीमै तरकारी खेती गर्ने सीप तथा प्राविधिक सहयोग गरिएको बताउनुभयो । उहाँका अनुसार कृषि बाली उत्पादन, प्रशोधन तथा बजारीकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको छ ।

फसल धितो राखेर ऋण
बुटवलले शशुरु गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिएको छ । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्यांकन गर्दै उनीहरुलाई पायक पर्ने सहकारीमार्फत फसल धितो राखेर ऋण उपलब्ध गराइँदै आएको छ । किसानले उत्पादन गरेका खाद्यान्न धान र गहुँको बीउ सहकारीले गोदाममा भण्डारण गर्दै किसानलाई आवश्यक ऋण उपलब्ध गराइएको छ ।

बुटवल १७ मा रहेको सिम्रिक कृषि सहकारीले ७५ मेट्रिक टन धान, ८० मेट्रिक टन धानको बीउ, १४० मेट्रिक टन गहुँ र ९० मेट्रिक टन गहुँको गुणस्तरीय बीउ भण्डार गरेको छ । यस्तै बुटवल–१६ स्थित आदर्श कृषि सहकारी संस्थाले ६३ मेट्रिक टन धान भण्डारण गर्दै उत्पादक किसानलाई फसलका आधारमा आवश्यक सहुलियत दरको ऋण प्रवाह गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !