१४ बैशाख २०८१, शुक्रबार

सुन्तलामा जरा कुहिने समस्या


सुन्तला खेती

चितवन, २ माघ । जिल्लाका पहाडी क्षेत्रमा लगाईएको सुन्तलामा जरा कुहिने समस्या देखा परेको छ । त्यसका कारण उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।

ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका अधिकांश सुन्तला बारीमा जरा कुहीने समस्या देखिएको हो । जिल्लामा २१५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । उहाँका अनुसार बिजु बिरुवामा (सुन्तलाको बीउबाट उम्रिएको) कारण यस्तो समस्या आएको हो । लामो समयदेखि एउटै खेती गरिरहँदा माटोमा हुने ढुसीका कारण यस्तो समस्या आउने उहाँले बताउनुभयो । इच्छाकामना गाउँपालिका–६ मा यो समस्या धेरै देखिएको उहाँले जानकारी दिनुभयो ।

सुन्तलामा जरा कुहिने समस्या देखिएपछि कार्यालयले आकस्मिक बाली संरक्षण सेवासमेत शुरु गरेको उहाँले जानकारी दिनुभयो । बिजु बिरुवाको ठाउँमा तीनपाते रुट स्टकमा कलमी गरिएका बिरुवाको प्रयोग गर्दा समस्यामा कमी आउने उहाँको भनाइ छ । कार्यालयले सुन्तलाको बिरुवामा समस्या देखिएपछि किसानलाई सुन्तला काँटछाँट गर्न, सुन्तलामा प्रयोग हुने बिषादी बोडोमिक्चर र बोडोपोष्ट बनाउने र प्रयोग गर्ने विधिबारे जानकारी दिने काम गरिरहेको छ ।

सुन्तलामा जरो कुहिने समस्या देखिएपछि तीनदेखि पाँच वर्ष अन्य नगदे बाली लगाएर माटोलाई पुरानो अबस्थामा ल्याउनुपर्ने ढकालले जानकारी दिनुभयो । यसले गर्दा माटोमा देखिएका समस्या समाधान हुने उहाँको भनाइ छ । गत वर्ष एक हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको यस जिल्लामा यस वर्ष भने यही समस्याका कारण उत्पादनमा धेरै कमी आउने उहाँले जानकारी दिनुभयो । अहिले कृषकले सुन्तला टिप्ने काम गरिरहेका कारण यतिनै घट्छ भन्न नसकिने उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !