मेवा खेती गर्ने तरिका

मेवा खेती गर्ने तरिका

मेवा क्यारिकेसी परिवारमा पर्ने एक प्रकारको फल हो। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। यो बजारमा सहज रुपमा पाइने र गाउँघरमा पनि सहजै फलाउन सकिने सस्तो फल पनि होे । मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ। छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ। मेवाको उत्पत्ति दक्षिण अमेरिकामा भएको मानिन्छ । मेवाको खेती अमेरिकाबाट, मलेशिया र फिलिपिन्स भई भारत प्रवेश गरेको मानिन्छ; भारतबाट मेवा नेपाल आएको बताइन्छ।

मेवा कस्तो हावापानीमा हुने फलफूल बाली हो?

मेवा उष्ण प्रदेशीय फल हो। यसलाई गरम र बढी सापेक्षिक आर्द्रता भएको हावापानी उपयुक्त हुन्छ। मेवामा अनुकूलन गर्ने क्षमता कम हुन्छ।

मेवाको वृद्धि र विकासको लागि कतिसम्मको तापक्रम उपयुक्त हुन्छ?

मेवा खेतीको लागि २२ देखि २६ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ। १० डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा चिसोले प्रतिकूल असर पर्ने हुँदा बोटको कुनै-कुनै भागमा काला दाग बस्दछन्।

मेवाको खेती गर्न वार्षिक वर्षा कतिसम्म हुनु आवश्यक छ ?

मेवाको लागि वार्षिक सालाखाला १०० देखि २०० से.मि.पानी पर्ने ठाउँ उचित हुन्छ।कूल वर्षा भन्दा पनि यसको वितरण कस्तो छ त्यसले मेवाको उत्पादनमा सकारात्मक वा नकारात्मक असर देखाउँदछ।

मेवा खेतीको लागि कस्तो माटो उपयुक्त मानिन्छ ?

मेवा वर्षभरीनै फलिरहने हुँदा यसको लागि तुलनात्मक रुपले मलिलो माटोको आवश्कता पर्दछ। पानी नजम्ने खुकुलो तथा दोमट माटोमा मेवा राम्रो फष्टाउँछ। पानी जम्ने खालको जमीनमा मेवामा फेद कुहिने रोग लाग्दछ।

माटोको अम्लियपना र क्षारियपना कस्तो हुनु पर्दछ ?

मेवा खेतीको लागि माटोको पि.एच. मान ६.० देखि ६.५ उपयुक्त हुन्छ। मेवाका जराहरुसतहमा फैलिने हुँदा सतहको माटो गुणस्तरको हुनु पर्दछ।

मेवाको बिरुवा कुन तरिकाले लगाउन उपयुक्त हुन्छ ?

मेवाकाबोटहरु धेरै लामो अवधिसम्म नरहने भएता पनि व्यवस्थित तरिकाले बिरुवा लगाउँदा गोडमेल, मलजल, बाली संरक्षण गर्न र फल टिप्न सुविधा हुन्छ। अतः वर्गाकार वा आयताकार तरिकाले बिरुवा लगाउन सकिन्छ।

मेवाका बिरुवा कति दूरिमा लगाउँदा उचित हुन्छ ?

मेवाका बिरुवा १.८मि.X १.८मि.देखि लिएर २.५मि.X २.५मि. सम्मको दुरीमा लगाइन्छ।

मेवाको बिरुवा रोप्नु अगाडी कति गहिराईको खाड्ल खन्नु पर्दछ ?

मेवा लगाउने जग्गालाई राम्रोसँग तयार गरी आवश्यक दुरी तय गरी ५० घन से.मि. को खाड्ल खनीसतहको माटो ३ भाग र राम्ररी पाकेको गोबरमल/कम्पोष्ट मल १ भाग मिसाई खाड्ल पुरी बिरुवा लगाउनु पर्दछ।

मेवाको बगैंचामा सिंचाई गर्न जरुरी छ ?

मेवालाईबिरुवाको वृद्धिको अनुसार बढी पानीको आवश्यकता पर्दछ। फलको विकास भइरहेको बेलामा पानीको अभाव हुनु हुँदैन। गरम हावापानीमा ७-१० दिन बिराएर पानी दिईरहनु पर्दछ।

मेवामा मलखादको व्यवस्था कसरी गर्न पर्दछ ?

मेवाको बोटको विकास अन्य फलफूलको तुलनामा छिटो हुने गर्दछ। एउटा बिरुवाको लागि वार्षिक ५० के.जी. कम्पोष्ट मल, २५० ग्राम नाईट्रोजन, १०० ग्राम फोस्फोरस र २५ ग्राम पोटास दिनु पर्दछ।

मेवामा कुन कुन बेलामा मलखाद दिँदा बढी प्रभावकारी हुन्छ?

मेवाको बोटमा मलखाद श्रावण-भाद्र र माघ-फाल्गुण गरी २ पटक दिनु पर्दछ। मलखाद र सूक्ष्म तत्वहरुको कमी भएमा बिरुवाले विभिन्न रोगका लक्षणहरु देखाउँदछ र उत्पादनमा पनि ह्रास आउँछ।

मेवाका बिरुवा बगैंचामा सारिसकेपछि कति समयपछि फूल फुल्न शुरु हुन्छ ?

गर्मी हावापानी भएको ठाउँहरुमा बिरुवा सारेको ४५-५० दिनमा फूलका कोपिलाहरु देखा पर्दछन्। पोथी फूलका कोपिला अठार देखि बीसौं पातपछि देखिन्छन् भने भाले फूलहरु चौबिसौं पातपछि मात्र देखा पर्दछन्।

मेवाको बिरुवामा पोथी फूल र भाले फूल कसरी छुट्टयाउन सकिन्छ ?

मेवाका बिरुवामा पोथी फूल एक-एक गरेर निस्कन्छन् भने भाले फूलहरु एउटै गुच्छामा धेरै संख्यामा हुने गर्दछन्। कुनै कुनै जातहरुमा एउटै भेट्नोबाट २ वटासम्म फल फल्ने गरेको पाईन्छ।

नेपालमा मेवाकाकस्ता-कस्ता जातहरु पाईन्छन्?

मेवाका थुप्रै जातहरु पाईन्छन् तर ती सबै जातहरुको परीक्षण र मूल्याङ्कन भने गरिएको छैन। नेपालमा बढी खेती गरिएका जातहरुमा वाशिङ्गटन, हनिड्यू,कोयम्बटुर जायन्ट,पुसा ड्वार्फ,सेलेक्शन-७ आदि छन्।

मेवाको वाशिङ्गटन जातको विशेषता के हो?

यसका बोटहरु मझौला र फलहरु लाम्चिला आकारका हुन्छन्। फलको गोलाई करीब ४० से.मी. र लम्बाई २० से.मी. को हुन्छ। सरदर एक के.जी. तौल हुने यसको स्वाद गुलियो र स्वादिष्ट हुन्छ।

पुसा जाईन्ट जातको विशेषता चाँहि के हो?

यसको बिरुवाले करीब एक मिटरको उचाईमा फल दिने गर्दछ। यसका बोटहरु बलिया, कडा र हावाहुरी सहन सक्ने खालका हुन्छन्। यसका फलहरु २०-२५ के.जी. सम्मका आकर्षक हुन्छन्।

पुसा ड्वार्फ जातको विशेषताको बारेमा पनि केहि बताई दिनु हुन्थ्यो कि?

यो जातको बोट ज्यादै होचो २५-३० से.मी. को उचाईमा फल फल्न शुरु गर्दछ। फल अण्डाकार र सरदर तौल १-२ के.जी. सम्मको हुन्छ। यसका बिरुवाहरु बढी घनत्वमा लगाउन सकिन्छ।

मेवाका बिरुवा कसरी उत्पादन गरिन्छ?

नेपालमा हालसम्म यसका बिरुवा बीजु तरिकाले नै उत्पादन गर्ने गरिएको छ जबकि विकसित मुलुकहरुमा यसको बेर्ना तन्तु प्रजनन विधिबाट पनि उत्पादन गरिरहेका छन्।

बीजु बिरुवा उत्पादन गर्ने तरिका बारे बताई दिनु हुन्थ्यो कि?

नर्सरी गर्ने जमीनलाई राम्ररी खनजोत गरी बुरबुराउँदो बनाएपछि करीब १-१.५ मिटर चौडाई भएको,जमीनको सतहबाट १५-२० से.मी.उठेको, पानी नजम्ने ब्याड बनाएर १५ से.मी.को दुरीमा धर्को कोरी २.५ से.मी.को फरकमा बीउहरु रोप्नु पर्दछ। बढी गहिरो भएमा बीउ उम्रन गाह्रो हुने हुँदा करीब १ से.मी. गहिराईमा बीउ रोपी हल्का माटोले पुरी माथिबाट खर वा परालले छोपी दिनु पर्दछ।

मेवाको बगैंचामा अन्तरबाली लगाउन सकिन्छ ?

साधारणतया मेवा बाली लगाई सकेपछि ३-४ वर्ष सम्म रहन्छ। यस अवधिमा लामो अवधिका बाली भन्दा एक सिजनमा तयार हुने काउली, बन्दा, मूला,केराउ, गोलभेंडा जस्ता चाँडै तयार हुने बालीहरु लगाउनु पर्दछ। मेवा फल्न शुरु गरेपछि अन्तरबाली लगाउन उचित हुँदैन किनकि मेवाको बिरुवा नै बढी घनत्वमा लगाएका हुन्छन्।

मेवा फल कस्तो अवस्थामा टिप्नु पर्दछ ?

यसको फल बोटमै पाक्दा चराहरुले नोक्सान गर्ने हुँदा फल पाक्नु अगाडी नै टिप्नु पर्दछ। स्थानिय बजारका लागि टिप्दा फलमा केही पहेंलो रङ्ग चढेपछि तथा भण्डारण गरेर राख्नका लागि भने फलले पूर्ण आकार लिईसकेपछि कम चोप आउने अवस्थामा टिप्नु पर्दछ।

मेवाको अग्लो बोटबाट कसरी सुरक्षित तरिकाले फल टिप्न सकिन्छ ?

फलहरु टिप्दा हातले समाती बटारेर टिप्नु पर्दछ। काठको वा बाँसको घोचाले झार्दा घाउ चोट लागि फल कुहिन्छ।

मेवाको प्रति बोट कतिसम्म उत्पादन लिन सकिन्छ?

मेवाको उत्पादन त्यसको जात, उमेर, बगैंचा व्यवस्थापन आदिमा निर्भर गर्दछ। उन्नत जातबाट ५०-१५० वटासम्म फल प्रति बोट प्रति वर्ष उत्पादन हुन्छ। उत्पादन शुरु भएको पहिलो र दोश्रो वर्षमा बढी उत्पादन हुन्छ त्यसपछि क्रमशः उत्पादन घट्दै जान्छ।

मेवा पाक्ने आधारमा कस्तो फलफूल बाली हो?

मेवा बोटमा नै पाक्ने स्वभावको फल हो। फल पाक्न शुरु गरेपछि पाक्ने क्रिया विभिन्न रासायनिक परिवर्तन अनुरुप चल्ने र नरोकिने हुँदा यसलाई साधारण प्रक्रियाबाट लामो अवधिसम्म भण्डारण गरेर राख्न सकिन्न।

मेवाको फललाई भण्डारण गर्न कस्तो उपाय अवलम्बन गर्नु पर्दछ?

मेवालाई भण्डारण गरेर राख्न वा टाढाको बजारमा बिक्री गर्न पठाउनु छ भने फललाई पाक्न शुरु नहुँदै टिप्नु पर्दछ।यस्ता फलहरुलाई ८ डिग्री सेल्सियस तापक्रम र ९५% भन्दा माथि सापेक्षिक आर्द्रता भएको कोठामा भण्डारण गर्ने वा यस्तो सुविधायुक्त भ्यानमा ढुवानी गरेर पठाउनु पर्दछ।

मेवाको फललाई प्याकेजिङ्गको व्यवस्था कसरी मिलाउनु पर्दछ?

मेवाको फललाई काठको बाकस, बाँसको टोकरीवा कार्टुनमा प्याक गर्नु पर्दछ। एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा फलहरु रगडिएर बिग्रने हुनाले फललाई रगडिनबाट बचाउन कुसनको व्यवस्था गर्नुका साथै प्याकिङ्गको माथिपट्टी दुबै साईडमा श्वास प्रश्वास क्रियाको लागि साना-साना प्वाल बनाउनु पर्दछ।

भण्डारणको फललाई एकनाससँग पकाउन के उपाय छ?

भण्डारण गरिएका फलहरुलाई एकरुपता साथ राम्ररी पकाउनका लागि २०० देखि २०००पि.पि.एम.इथेफनको प्रयोग गर्नु पर्दछ।

मेवाको फलबाट पेपिन उत्पादन गरिन्छ ?के हो यो पेपिन?

यो मेवाको फलबाट निस्कने चोप संकलन गरी राखिएको पदार्थ हो। यसको उत्पादन हेतु पूरा आकार लिई सकेका (९०-१०० दिन उमेरका ) फललाई छानिन्छ र बिहान १० बज्नु भन्दा पहिले फललाई चक्कुको तिखो टुप्पाले चारैतिर ०.३ से.मी. गहिरो चिरिन्छ र चोपलाई सिल्भरको भाडोमा जम्मा गरिन्छ।

पेपिन उत्पादनको लागि छुट्टै जात पनि छन्?

साधारणतया सबै मेवाको जातबाट पेपिन उत्पादन गर्न सकिन्छ तर हालसम्म सेलेक्शन-७ र कोयम्बटुर-१ जात पेपिन उत्पादनका लागि राम्रो मानिन्छ।

मेवामा रोग कीराको प्रकोप कस्तव हुन्छ ?

मेवामा रोग तथा कीरा दुबैले आक्रमण गर्दछन् तर कीरा भन्दा रोगले बढी नोक्सानी गरेको पाईन्छ किनकि मेवा बेलैमा टिप्यो भने कीरा तथा अन्य शत्रु काग, चमेरो, सुगा, जुरेली आदिबाट सजिलै बचाउन सकिन्छ।

मेवामा लाग्ने रोगहरु कुन कुन हुन् र कुन कुन रोगबाट बढी क्षति पुग्दछ?

मेवामा लाग्ने रोगहरुमा फेद कुहिने, जरा कुहिने, एन्थ्राक्नोज, मोज्याक, पात बटारिने रोग मुख्य हुन्। यिनीहरु मध्ये पनि जरा कुहिने र एन्थ्राक्नोजरोग बढी हानिकारक हुन्छन्।

जरा कुहिने रोग लागेको कसरी थाहा हुन्छ र यसको रोकथाम कसरी गर्नसकिन्छ?

यो रोग ढुसीको आक्रमणबाट हुने हो। रोग लागेपछि जरा कुहिन शुरु गर्दछन् र आक्रमण बढ्दै गएपछि बोट ओइलाएर मर्दछन्। यो रोग बीउ र माटो दुबैबाट फैलिने हुँदा तिनीहरुको बेलैमा उपचार गर्नु पर्दछ। बीउ रोप्नु अगाडी बीउलाई सेरेसन वा क्याप्टानले उपचार गर्नु पर्दछ भने माटोलाई फर्मल्डिहाईड वा कुनै तामायुक्त ढुसीनाशक विषादिले उपचार गर्नु पर्दछ ।

मेवामा एन्थ्राक्नोज रोगको क्षतिको प्रकृति र रोकथामको उपाय कस्तो छ?

यस रोगको ढुसीले गर्दा फल र पातहरुमा काला धब्बाहरु देखा पर्दछन् । साना फल हुँदै आक्रमण भएमा फलहरु झर्दछन् । फल पाक्ने समयमा आक्रमण भएमा फलको बाहिरपट्टि कालो दाग देखा पर्दछ । बोर्डोमिक्स्चर १%बेला बेलामा छर्दा यस रोगको रोकथाम गर्न सकिन्छ ।