२१ बैशाख २०८१, शुक्रबार

जिरी गाई फार्म आनुवंशिक स्रोत केन्द्र बन्दै


जिरी गाई File Photo

भीमेश्वर, २८ कात्तिक । दोलखा जिल्लामा रहेको जिरी गाई फार्म गत वर्षका तुलनामा यस वर्ष २८ प्रतिशतभन्दा बढी आम्दानी गर्न सफल भएको छ । गाई फार्मले बढी दूध दिने जातका गाईका बाच्छी उत्पादन गरी स्थानीय कृषकलाई बिक्रीवितरण गर्दै आएको छ ।

आहार तथा व्यवस्थापनमा राम्रो हेरचाह गरेसँगै दूध उत्पादनमा वृद्धि भएकाले आम्दानी बढेको फार्मका पशु विकास अधिकृत श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल जमरा घाँसको उत्पादनमा वृद्धि भएसँगै दूधको उत्पादनमा समेत वृद्धि भएको छ । सुख्खा समयमा पनि हरियो हुने घाँस तथा समूहगत आहारमा ध्यान दिइएकाले गर्दा गाईको दूध उत्पादनमा वृद्धि भएको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षमा रु ६० लाख १४ हजार आम्दानी भएकामा गत आवमा रु ७७ लाख २९ हजार आम्दानी भएको बताइएको छ । प्रतिलिटर दूध रु ४५ र १५ पैसाको दरले स्थानीय बजार तथा डिडिसी दोलखामा बिक्रीवितरण हुँदै आएको छ ।

दूध उत्पादनभन्दा पनि बाच्छाबाच्छी उत्पादन गरी स्थानीय कृषकको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ फार्म सञ्चालन गरिएको हो । एक सय जनासम्मको समूहमा आबद्ध किसानलाई गौपालनसम्बन्धी तालीम तथा उन्नत जातको घाँस वितरण गरिँदै आएको छ ।

फार्ममा हाल ६८ मध्ये ३४ लैनु गाई छन् । साँढे, बहर र बाच्छीसमेत गरी हाल फार्ममा ११० गाई रहेको बताइएको छ । फार्ममा २०२ बङ्गुरका पाठापाठी पनि छन् ।

सशस्त्र द्वन्द्वका समयमा खिम्ती पशुफार्ममा रहेका सम्पूर्ण गाईलाई फुकाएर बाँडचुँड गरिएको थियो । त्यसपछि फार्म खाली भएकाले स्थानीयवासीले जग्गा मिच्ने काम गर्दै आएकाले जोगाउन निकै गाह्रो भएको यादवले बताउनुभयो । उहाँका अनुसार एक सय २४ रोपनी क्षेत्रफल रहेको उक्त फार्मको जग्गा जोगाउनका लागि आगामी दिनमा घाँसखेती गर्ने, गाईगोठ सुधार गर्ने, बाच्छाबाच्छी व्यवस्थापन तथा विभिन्न संरचना निर्माणका काममा ध्यान दिने योजना छ ।

स्थानीयवासी पदमकुमारी जिरेलले स्थानीयवासीलाई गाईपालनसम्बन्धी तालीमबाट दूध उत्पादन बढेको र बजारमा बिक्रीवितरण गर्दा आम्दानीको स्रोत बन्दै आएको बताउनुभयो । गाई फार्म स्वीस सरकारले खोले तापनि नेपाल सरकारले यसलाई प्राथमिकतामा राखी बृहत् बनाउँदै लैजाने हो भने गाई फार्मको केन्द्रका रुपमा दोलखाको जिरीलाई लिन सकिने उहाँको भनाइ छ ।

सो फार्म २०१४ सालमा स्वीस विकास सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएकोे थियो जसको तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । सो फार्म विसं २०७५ देखि गाई आनुवंशिक स्रोत केन्द्रका रुपमा सञ्चालन गरिँदै आएको छ । विज्ञका अनुसार गाईको दूधमा मान्छेको दूधमा जत्तिकै प्रोटिन पाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !