२१ बैशाख २०८१, शुक्रबार

कृषिमा प्राथमिकता


कृषि

सुर्खेत, ११ असार । कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आव.२०७७/०७८ को लागि रु.१ अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८२३ बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाकाको सातौं नगरसभामा कार्यवाहक प्रमुख मोहनमाया ढकाल (भण्डारी) द्वारा प्रस्तुत सो आव को बजेटमा चालुतर्फ रु.९० करोड ४० लाख १४ हजार ४०० र पूँजीगततर्फ रु.५१ करोड ६७ लाख ९८ हजार ४२३ र वित्तिय व्यवस्थापन तर्फ रु.८० लाख ८० हजार बजेट विनियोजित गरिएको छ । यो चालु आव.को बजेट भन्दा रु.१९ करोडले कम रहेको उहाँले बताउनुभयो ।

उहाँले कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता र पूर्वाधारमा जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याइएको जनाउनुभयो । नगरभित्र उत्पादन हुने फलफुलहरुमा ः आँप, कागती, केरा, लिची, किबी, खाद्यान्न बालीहरुमा ः कोदो, धान, मकै, गहुँ, मसुरो, मास, केराउ, भट्टमास सिमी, तरकारीहरुमा ः अदुवाको, प्याज, लसुन, केराउ, तरकारी तथा खाद्य बीउ आदिलाई प्राथमिकता र गाई वस्तुहरुलाई पकेट क्षेत्रका रुपमा प्रवद्र्धन गरिने उहाँले बताउनुभयो ।

उहाँले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याईएको जानकारी दिँदै भन्नुभयो, “हामीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि रु.पाँच करोड रकम विनियोजन गरेका छौं । नसर्ने रोगको पहिचान गर्ने, रोकथाम र संरक्षणलाई प्रभावकारी बनाउँदै महिलाको पाठेघर क्यान्सरलगायत सबै कुरामा निःशुल्क परीक्षण सञ्चालन गर्ने विषय बजेटमा समावेश गरिएको छ ।”

नगरपालिकाले नगर विकासलाई प्राथमिकतामा राखेर नीजि साझेदारी मोडेलबाट विकास निर्माण अगाडि बढाउने, सिटी बसपार्क विकासलाई निरन्तरता दिने, बिगतमा शुरु गरिएको गुरुयोजना अन्तिम रुप दिने बजेट तथा योजना कार्यक्रम समावेश गरेको छ । वडापालिकामा रु.तीन लाख र नगरमा रु.१० को विपद् व्यवस्थापन कोष निर्माण गर्ने जनाईएको छ ।

काक्रेबिहारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि चिडियाखानाका रुपमा विकास गर्न, देउती बज्यै, बुलबुले, घण्टाघर र गढीलाई वातावरणमैत्री पार्कका रुपमा विकास गर्ने समेत बजेटमा उल्लेख गरिएको छ । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउन न्यूनतम शैक्षिक भौतिक पूर्वाधार विकास गरिने बताईएको छ । मावि सञ्चालन नभएका वडाहरुमा आवश्यक पूर्वाधार पुरा गरेकालाई आवश्यक स्तरवृद्धि गर्ने र एक वडा, एक प्राविधिक शिक्षालयमा पनि जोड दिने नगरपालिकाले जनाएको छ ।

नीति तथा कार्यक्रम र बजेटमा कृषि उत्पादन, स्वास्थ्य, शिक्षा, रोजगारी र भोकमरीलाई केन्द्रित गरेर सुर्खेतका भेरीगंगा नगरपालिकाले रु.६२ करोड ८८ लाख, लेकबेसी नगरपालिका रु.६० करोड ६० लाख, सिम्ताले रु.४५ करोड ६०, चिङ्गाड गाउँपालिकाले रु.३५ करोडको बजेट ल्याएको छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !