१० बैशाख २०८३, बिहिबार

धर्मशाला निर्माणका लागि रु तीन करोड चन्दा सङ्कलन


तीन करोड

७ फागुन, लहान । लहान नगरपालिका–१५ ढोढनास्थित शक्तिपीठ राजदेवी पञ्चावती भगवती मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि करीब रु तीन करोडभन्दा बढी मूल्य बराबरको जग्गा तथा चन्दा सङ्कलन भएको छ ।

धर्मशाला निर्माणार्थ मन्दिरमा हालै सम्पन्न भएको श्रीमद्भागवत् महापुराण तथा महायज्ञका क्रममा विभिन्न श्रद्धालुबाट धर्मशाला निर्माणका लागि जग्गा तथा नगद आर्थिक सङ्कलन भएको हो । गत माघ २६ गतेबाट शुरु भएको श्रीमद्भागवत महापुराण तथा महायज्ञमा सहभागी हुन आउनुभएका श्रद्धालुले मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि बहुमूल्य जग्गा तथा नगद दान गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

लहान नगरपालिका–१ का वडाध्यक्ष फागु चौधरीले धर्मशाला निर्माणका लागि करीब रु ३० लाख मूल्य बराबरको १० धुर जग्गा प्रदान गरेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । यस्तै लहानका व्यवसायी हरिकिशन शारडाले धर्मशाला निर्माणका लागि रु एक लाख एक हजार १११ दान गर्नुभएको छ । यस्तै अन्य श्रद्धालुबाट समेत नगद दान प्राप्त भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

महापुराण तथा महायज्ञमा पण्डित श्रीनिवासा आचार्यले कथावाचन गर्नुभएको थियो । धर्मशाला निर्माणका लागि रु एक लाखभन्दा बढी चन्दा सहयोग गर्ने दातालाई मन्दिरको तस्वीरसहितको सुनको पदक प्रदान गरिएको थियो । भागवत महापुरण तथा महायज्ञमा सिरहा, सप्तरी, धनुषासहित देशका विभिन्न स्थान तथा छिमेकी देश भारतका करीब पाँच लाखभन्दा बढी भक्तजन सहभागी भएको आयोजकले अनुमान गरेको छ ।

सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि करीब ६ किलोमिटर उत्तर चुरे क्षेत्र नजिकै रहेको देवीथान मन्दिरको रूपमा परिचित राजदेवी पञ्चावती भगवती मन्दिर पछिल्लो समय जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुन थालेको छ । मन्दिरमा जेठ महीनाको पूर्णिमाका दिन बाख्रा र परेवाको बलि प्रदान गर्ने गरिन्छ । सो दिन मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने प्रत्येक दिन पूजा गर्न श्रद्धालु आउने गरेका छन् ।

स्वास्थ्य शिविरमा जाँच

सिरहा नगरपालिका–५ मानपुरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ५०० बढीले स्वास्थ्य जाँच गराएका छन् । आधारभूत विद्यालय मानपुरको प्राङ्गणमा सम्पन्न स्वास्थ्य शिविरमा २२५ पुरुष र ३३४ महिला गरी ५५९ ले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिएका छन् ।

शिविरमा मधुमेह, उच्च रक्तचाप, बालरोग, कान, नाक, दाँत, हाडजोर्नी तथा नसारोग, स्त्रीरोग, छाला तथा यौनरोगलगायतका रोगबाट पीडित बिरामीलाई जाँच तथा परामर्श दिइएको थियो । शिविरमा इसिजी, मधुमेह जाँच गर्नुका साथै निःशुल्क रूपमा औषधिसमेत वितरण गरिएको थियो ।

नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय सिरहा र मानपुर स्वास्थ्यचौकीको संयुक्त आयोजनामा सम्पन्न उक्त शिविरमा नगरपालिकाका उपप्रमुख तथा स्त्रीरोग विशेषज्ञ डा नमिता यादव, कोशी अञ्चल अस्पतालका डा विनोदकुमार यादव, जिल्ला स्वास्थ्य कार्यालय सिरहाका डा दिलीप सदा, मानपुर स्वास्थ्यचौकीका रामएकवाल मण्डल, नगरपालिकाका स्वास्थ्य संयोजक विन्देश्वर यादवलगायतका चिकित्सकले बिरामीको निःशुल्क स्वास्थ्य जाँच गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !