११ बैशाख २०८३, शुक्रबार

कर्णाली सरकारको श्रम दिन : सरसफाइसँगै फलफूल वितरण


pradesh

१५ पुस, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो निर्धारित कार्यतालिकाअनुसार आज १५ गते सरसफाइ गरेर श्रम दिन मनाएको छ ।

गृहजिल्ला कालीकोट पुगेका प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रजिअ चन्दबहादुर कार्कीसहित सरकारी प्रमुखले मान्मबजार सरसफाइ गरेर श्रम दिन मनाउनुभएको छ । राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढासहितले सरसफाइसँगै वृद्धलाई फलफूल वितरण गरेर श्रम दिन मनाउनुभएको छ ।

प्रवक्ता केसी नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिवमन्दिर क्षेत्रमा सरसफाइ गरेको छ । त्यसैगरी, सोही वडामा रहेको प्रशान्ति वृद्धाश्रमका १३ जना ज्येष्ठ नागरिकलाई फलफूल वितरण गरिएको सहकारीमन्त्री केसीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले हरेक महीनामा दुई दिन श्रम दिवस मनाउँदै आइरहेको छ । गुरुङ जातिको तमु ल्होसारमा परेको आजको श्रम दिनमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धर, प्रमुख सचिव रामप्रसाद थपलिया, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तोयनारायण सुवेदीलगायत सरकारी अधिकारी तथा कर्मचारी, स्थानीय समुदाय र पत्रकारको सहभागिता रहेको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !