१२ श्रावण २०८३, मंगलबार

रामायण पार्क निर्माण योजना अलपत्र


Nepalpatra

१२ पुस, बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पक्षैस्थित रावणको जन्मथलो मानिने पौलस्त्य पुलहाश्रम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अघि सारिएको ‘रामायण पार्क’ निर्माण योजना अलपत्र परेको छ । जिल्लाकै चर्चित योजनाका रुपमा अघि सारिएको उक्त रामायण पार्कको विस्तृत अध्ययन कार्य नै अन्योलमा परेको हो ।

गत वर्षदेखि रामायण पार्क निर्माण गर्न नगरपालिकाले बजेट विनियोजन शुरु गरे पनि गुरुयोजनाको अभावमा बजेट खर्च हुन सकेको छैन । रामायण पार्कको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्न महेन्द्र गोदारसँग सम्झौता भए पनि अहिलेसम्म अन्तिम रिपोर्ट आइनसकेको कारण ताकेता गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो ।

मङ्सिरमा अन्तिम समयसीमा दिइएको भए पनि अहिलेसम परामर्शदाता नगरपालिकाको सम्पर्कमा नआएपछि सम्झौता तोड्ने सोचमा नगरपालिका पुगेको उहाँले जानकारी दिनुभयो । डिपिआर तयार गर्न नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको थियो । नगरपालिकाले बेनीको शिरमा रहेको आँपरूखदेखि पुलाश्रमसम्मको क्षेत्रलाई समेटेर रामायण पार्क बनाउने तयारी गरे पनि डिपिआर तयार गर्न ढिलाइ हुँदा सो योजनाका लागि विनियोजन भएको बजेट उपयोग हुन सकेको छैन ।

नगरपालिकाले गत वर्ष रु ६० लाख बजेट रामायण पार्कका लागि विनियोजन गरेको थियो । गुरुयोजना नबन्दा उक्त बजेट रकमान्तर गरी बेनी–अर्थुङ्गे सडक स्तरोन्नतिमा खर्च गर्नुपरेको बेनपा–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । ‘‘स्थलगत अध्ययन गरी प्रारम्भिक रिपोर्ट पेश गरेकोमा अपुग कुरा थप्न लगाएका थियौँ, तीन महीना भयो रिपोर्ट आएको छैन,” उहाँले भन्नुभयो ।

परामर्शदाताले सम्झौताबमोजिमको काम गरेको छैन भने शुल्कसमेत लगेको छैन् । पार्क निर्माण योजनामा यो वर्ष पनि रु ४० लाख बढी बजेट विनियोजन भएको नगरपालिकाले जनाएको छ । यस क्षेत्रमा लुकेर रहेका धार्मिक महत्वका क्षेत्रलाई उजागर गर्न नगरपालिकाले पार्कको अवधारणा अघि सारेको हो ।

समयमै गुरुयोजना निर्माणले पूर्णता नपाएको र योजनाको नामाकरणको विषयमा केही अस्पष्टता देखिएकाले केही अलमल देखिएपनि छिट्टै पार्क निर्माणको प्रक्रिया अघि बढाउने गृहकार्य भइरहेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । “पार्कको विषयमा सबैको एउटै धारणा बन्न सकिरहेको छैन, हामीले आँपरूखदेखि गुफाको डाँडाको राममन्दिर, पुलाश्रमसम्मकै क्षेत्रलाई समेटेर विभिन्न पूर्वाधार बनाउने योजना गरेका छौँ, पुलाश्रमदेखि जगन्नाथसम्मलाई पदमार्गले जोड्ने योजना छ,” प्रमुख श्रेष्ठले भन्नुभयो ।

रामायणमा बहुचर्चित खलपात्रका रुपमा चिनिएका रावणको जन्मस्थान बेनी नगरपालिका–५ पक्षैस्थित पौलस्त्य पुलहाश्रम क्षेत्र मानिन्छ । ब्रम्हाका १० छोरामध्ये पुलस्ति ( पुलस्त्य) र पुलह दुई भाइ हुन् । यी दुई ऋषिले पक्षैमा तपस्या र विश्व यज्ञ गरेको मानिन्छ । सो यज्ञमा होम गरिएको अग्निकुण्डमा अझै ठूलो ढुङ्गाले ढाकिएको अवस्थामा चरु (खरानी)को अवशेष रहेको स्थानीयवासी बताउँछन् ।

पक्षैमा आएर पुलस्ति ऋषि बसेको हुँदा उनको छोरा बिश्रवा यसै क्षेत्रमा बसे । बिश्रवाका छोराहरु रावण, कुम्भकर्ण र विभिषण हुन् । बाजेले तपस्या गरिबसेको आधारमा छोरा बिश्रवा र नाति रावण यही जन्मिएको हुनसक्ने आधार रहेको पुलस्त्य पुलह क्षेत्र विकास कोषका कोषाध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !