४ बैशाख २०८३, शुक्रबार

बज्रयान बौद्धधर्मको उत्थान गर्नुपर्छ


Nepalpatra

२७ असोज, काठमाडौँ । बज्रयान बौद्धधर्मको उत्थानका लागि राज्य गम्भीर हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ ।

बौद्ध दर्शन अध्ययन पुचःले नेवारहरूको सबैभन्दा ठूलो चाड मोहनी नखःको अवसरमा मैत्री बोधिसत्व महाविहार जमलमा आज आयोजना गरेको कार्यक्रममा बौद्धविद्वानहरूले बज्रयान बौद्धधर्मको विकास र उत्थानका लागि राज्य गम्भीर हुनुपर्ने आवश्कयतामाथि जोड दिनुभएको हो ।

बौद्धविद्वान यज्ञमान पति बज्राचार्यले बज्रयान बौद्धधर्ममा मोहनी नखःको विषयमा तथा बौद्ध दर्शनका अध्ययनकर्ता गुरु दिनेश राज बज्राचार्यले बज्रयान बौद्धधर्ममा मण्डल र यसको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

मोहनी सिन्ह बज्राचार्य गुरुबाट विशेष मन्त्रोच्चारण गरी तयार पारिने एक प्रकारको कालो (टीका )को नामबाट मोहनी नखः भएको बताउँदै बौद्धविद्वान यज्ञमान पति बज्राचार्यले दशैँ र नेवार समुदायले मनाउने मोहनी नखःमा निक्कै भिन्नता रहेको छ, रातो टिकाभन्दा माथि मोहनी टिका लगाउँदा अन्जन सिद्धी प्राप्त हुने विश्वास रहेको धारणा व्यक्त गर्नुभयो ।

बौद्धदर्शनका अध्ययनकर्ता गुरु दिनेशराज बज्राचार्यले बज्रयान बौद्धधर्ममा हरेक पुजामा मण्डः(मण्डल)को विशेष महत्व रहेको र मण्डपमा बुद्धको चैत्यको प्रतिक दुईवटा ग्वजुको पुजा गर्ने परम्परामाथि प्रकाश पार्नुभयो । गुरुको दर्शन र गुरुको सम्मान गर्ने नेवारी समाजको परम्परा यसमा झल्केको उहाँको भनाई छ ।

बौद्ध अध्ययनकर्ता आनन्द मुनि बज्राचार्यले बज्रयान पुजाविधी युवालाई सिकाउन सके मात्र यसको संरक्षण हुने बताउनुभयो ।

कार्यक्रममा बौद्ध दर्शन अध्ययन पुचः बाट बज्रयान पुजा विधिको एक महिने प्रशिक्षण लिएका शिष्यहरूले गुरुबन्दना प्रस्तुत गर्नुभएको थियो भने शिष्य तारा मानन्धरले बज्रयोगीनी देवीको नृत्य प्रस्तुत गर्नुभएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !