४ बैशाख २०८३, शुक्रबार

फिनल्याण्डका राजदूत राससमा


rajdud

२६ असोज, काठमाडौँ । फिनल्याण्डका एक जना वरिष्ठ कूटनीतिज्ञले आफ्नो देशका हरेक नागरिकको मनमस्तिष्कमा नेपालको नक्शा रहेको र सगरमाथाको देश भनेर नेपाल उनीहरुमाझ परिचित रहेको बताएका छन् ।

नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेन र राष्ट्रिय समाचार समिति (रासस) को नेतृत्वबीच आज भएको भेटवार्तामा उहाँले नेपालप्रति फिनल्याण्डवासीको अगाध स्नेह रहेको बताउनुभयो ।

आफ्नो कूटनीतिक जिम्मेवारी निर्वाह गर्न पाँच साताअघि मात्र यहाँ आउनुभएका राजदूत आन्तिनेन तथा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, महाप्रबन्धक ओपेन्द्र शर्मासहितका पदाधिकारीबीच आज रासस प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा भएको भेटमा राससको सेवा प्रवाहका साथै दुई देशबीचको सम्बन्ध र बहुपक्षीय मञ्चमा फिनल्याण्ड–नेपाल सहकार्यका विविध आयाममा विचारविमर्श भएको थियो ।

राससका अध्यक्ष श्यामलले नेपालको आधिकारिक समाचार समितिका रुपमा राससले सम्पादन गर्दै आएका काम र पत्रकारिताका माध्यमबाट अन्तर्राष्ट्रिय जगत्सँगको नेपालको सम्बन्ध स्थापनामा निर्वाह गरेको भूमिकाबारे अवगत गराउनुभयो । उहाँले सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत फिनल्याण्डका सञ्चारगृह र राससबीच साझेदारीका साथै उच्चस्तरीय भ्रमण आदानप्रदानको व्यवस्था गर्न सके जनस्तरको पारस्परिक सम्बन्ध अझ घनीभूत हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र फिनल्याण्डबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक–आर्थिक उन्नयनमा फिनल्याण्डबाट प्राप्त नैतिक एवम् भौतिक सहयोगका विषयलाई उच्च महत्व दिँदै राससले समाचार र विज्ञका विचार निरन्तर प्रवाह गरेको बताउँदै भविष्यमा त्यसलाई अझ प्रभावकारी रुपमा देशविदेशका पाठकमाझ प्रस्तुत गर्न राससको प्रतिबद्धता दोहो¥याउनुभयो ।

राजदूत आन्तिनेनले ग्रामीण खानेपानी आपूर्ति तथा सरसफाइ, जल व्यवस्थापन, विद्यालय क्षेत्र सुधार, बहुसरोकार वन कार्यक्रमलगायत परियोजनामार्फत नेपाललाई आफ्नो देशले सघाएको स्मरण गर्दै आफू पारस्परिक व्यापार प्रवद्र्धन, नेपालीको उद्यमशीलता विकासजस्ता नवीन क्षेत्रमा काम गर्ने योजनामा रहेको बताउनुभयो ।

फिनल्याण्डले मौसम पूर्वानुमानका क्षेत्रमा पनि नेपालको जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै आएको उहाँले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आफू लागिपरेको बताउँदै उहाँले वार्षिक तीन हजारको हाराहारीमा फिनिस पर्यटक आउने गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ म धेरैभन्दा धेरै फिनिसलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नेछु । ”

संयुक्त राष्ट्र सङ्घलगायत बहुपक्षीय मञ्चमा नेपालसँग फिनल्याण्डले सहकार्य गर्दै आएको र बहुपक्षतावादलाई पद्धतिमा आधारित बनाउनुपर्ने समान धारणा दुवै देशको रहेको उहाँले बताउनुभयो । राससका पत्रकारको वृत्तिविकासका लागि फिनल्याण्डका सञ्चार प्रतिष्ठानमा तालीमलगायत अवसरका साथै भ्रमण आदानप्रदानका सम्भावनाको खोजी गरिने पनि राजदूत आन्तिनेनले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !