२ बैशाख २०८३, बुधबार

भ्रष्टाचार निवारणमा एकताबद्ध प्रयास आवश्यक


silyanas

२४ असोज, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ । आयोगको पोखरा कार्यालय भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन सुशासन अपरिहार्य हुने धारणा राख्नुभयो ।

स्थानीय तहमा आर्थिक अनियमिततालगायतका विषयमा धेरै उजुरी पर्ने गरेको बताउँदै उहाँले सङ्क्रमणकालीन समयका नाममा कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको स्पष्ट पार्नुभयो ।

भ्रष्टाचार नियन्त्रण कार्यलाई नियन्त्रण गर्न आयोग सक्रियताका साथ लागेको बताउँदै उहाँले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए/नभएको, कानूनको पालना भए/नभएको जस्ता विषयमा अध्ययन अनुसन्धान भइरहेको उल्लेख गर्नुभयो ।

पोखरामा निर्माणाधीन कार्यालय भवनले यहाँबाट हुने आयोगको कामलाई प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पु¥याउने उहाँको भनाइ छ । आयोगका सचिव महेश्वर न्यौपानेले सङ्घीय संरचनाअनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति व्यवस्थापन गरिएको बताउनुभयो ।

मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका लागि जनशक्तिलाई तालीम प्रदान गरिएको बताउनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका लागि आयोगको निगरानी आवश्यक हुने बताउनुभयो ।

आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले नवनिर्मित भवन कूल रु १४ करोड ७२ लाख ३६ हजार ५७३ लागतमा ठेक्का सम्झौता भई काम अघि बढेको जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !