काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा ठगी गरेको घटनामा पक्राउ परेका दुईजना पूर्वमन्त्रीसहित सहित ६ जना आरोपीहरूलाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेर बहादुर कुँवर र रामेश्वरराय यादव सहितका प्रतिवादीलाई आज मंगलबार थप दुई दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।
यस्तै श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलाई दुई दिन थुना म्याद थप भएको जानकारी काठमाडौं जिल्ला अदालत स्रोतले बताएको छ ।
आरोपीहरूमाथि ब्यूरोले ठगी सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ । २०७५ को अन्तिमबाट आरोपीहरूले मलेसिया जाने कामदारहरूसँग प्रतिव्यक्ति १ सय मलेसियन रिङ्गिट असुल गरेका थिए । त्यसबेलाको मूल्य अनुसार एकजना कामदारसँग म्याक्रोटेक प्रालिले नेपाली रकम ३१ सय ६० रुपैयाँ असुलेको थियो ।














