७ मंसिर २०८३, सोमबार

भारतद्वारा दुई खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा


प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

नयाँ दिल्ली । नेपालमा पुनर्निर्माण र दीर्घकालीन विकासलाई सुदृढ बनाउन भारतले रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए।

उक्त सहयोगले प्रभावित परिवारको जीवन सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न तथा भविष्यमा विपद् सामना गर्ने नेपालको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको निकटतामा आधारित रहेको बताए।

भगवान् राम र माता सीतालाई दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीकका रूपमा उल्लेख गर्दै उहाँले जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

आजदेखि सुरु गरिएको ‘सरयू–कमला’ रेल सेवाले अयोध्या आउने श्रद्धालुलाई जनकपुर पुगेर माता सीताको दर्शन गर्न सहज हुने उनले बताए।

साथै, लुम्बिनी र बोधगयासहित दुवै देशका बौद्ध तथा शिवशक्तिसँग सम्बन्धित पवित्र स्थलबीच सम्पर्क विस्तार गर्न सहकार्य गरिने भारतीय प्रधानमन्त्री मोदीले जानकारी दिए।

यसैगरी, उत्तराखण्ड र नेपालबीच धारचुला सडक पुलको उद्घाटन तथा बनबासामा एकीकृत जाँच चौकीको शिलान्यास गरिएको उनले बताए।

नेपालतर्फ दोधारा चाँदनीमा एकीकृत जाँच चौकी निर्माणको काम पनि तीव्र गतिमा अघि बढाइने उनको भनाइ थियो।

यी परियोजनाले नेपाल र भारतबीच व्यापार तथा आवतजावत सहज बनाउने उल्लेख गर्दै उनले बिहार, उत्तर प्रदेशलगायत भारतीय राज्य र नेपालबीच सडक, रेल तथा सीमा सम्पर्क विस्तारका परियोजनालाई गति दिइने बताए।

नेपालको पारवहन व्यापार सहज बनाउन काङ्गडा र पारादीप बन्दरगाहसम्म पहुँच उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

नेपालका नदीमा स्वच्छ ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले त्यसको उपयोगबाट नेपालको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन भारतको ऊर्जा बजार सहयोगी बन्न सक्ने बताए।

तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास र अरुण–३ आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता यसै प्रयासको हिस्सा रहेको उहाँले उल्लेख गरे।

भारतले नेपाललाई पेट्रोलियम पदार्थ तथा अन्य आवश्यक वस्तुको विश्वसनीय आपूर्तिकर्ताका रूपमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले आपूर्तिमा चुनौती हुँदासमेत नेपालमा इन्धन, मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति कायम राखिएको बताए।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन र झापामा पेट्रोलियम पदार्थ भण्डारण केन्द्रको शिलान्यासले दुई देशबीचको आपूर्ति साझेदारी थप सुदृढ हुने उनले बताए।

नेपालको युवा पुस्तामा प्रतिभा, ऊर्जा र ठूला सपना रहेको उल्लेख गर्दै उहाँले ती आकाङ्क्षा पूरा गर्न भारत सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

यसका लागि नेपालमा नयाँ उद्यम प्रवद्र्धन केन्द्र, नवप्रवर्तन केन्द्र तथा भारतीय प्राविधिक संस्थानको बाह्य परिसर स्थापना गरिने उनले जानकारी दिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु