काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गर्न गएको हप्ता अनुमति लिएको हो ।
नेपाली कांग्रेसका नेता समेत रहेका बानियाँमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट गत साता पक्राउ अनुमति लिएको बताइएको छ । उनीविरूद्ध बैंकिङ कसुरमा अनुसन्धान गर्नका लागि प्रहरीले अनुमति लिएको हो।
यसअघि प्रहरीले उनका छोरा दीक्षान्तलाई पक्राउ गरेको थियो। उनी अहिले पनि सीआईबीको हिरासतमा छन्। उनलाई कात्तिक १६ गते भैरहवा विमानस्थलबाट सीआईबीले पक्राउ गरेको थियो । वैशाखमा सम्पत्ति शुद्धीकरण विभागले उनको घरमा छापासमेत मारेको थियो।
बानियाँले विभिन्न कम्पनीमार्फत ३८ करोड रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोप छ। भूगर्भ सिमेन्ट, बानियाँ कन्ट्रक्सन र बानियाँ सप्लायर्सका नाममा लिएको कर्जा सेयरमा लगानी गरेको सीआईबीको दाबी छ।
उनको कम्पनीले निर्माणको काम अलपत्र पारेर त्यसको रकम समेत सेयरमा लगाएको आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ । उनी २०८२ साउन २० गतेदेखि २०८३ भदौ १ गतेसम्म बागमती प्रदेशका मुख्यमन्त्री बनेका थिए ।














