४ मंसिर २०८३, शुक्रबार

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु मोटरेबल पुल


सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु मोटरेबल पुल

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण पछिल्लो १० महिनादेखि पुलको काम पूर्ण रूपमा ठप्प भई अलपत्र परेको हो।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत थासाङ गाउँपालिका–२, ३ र ५ जोड्ने गरी यो पुल निर्माण थालिएको थियो। पुल बनेपछि बेनी–जोमसोम मुख्य राजमार्गसँगै कालीगण्डकीपारिका धप्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँहरू ग्रामीण सडक सञ्जालमा जोडिनेछन्। तर, विसं २०७६ फागुन २९ गते देव एन्ड सायर कन्स्ट्रक्सनसँग ५ करोड ५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त पुलको म्याद हालसम्म पाँचपटक थपिँदा पनि काम पूरा हुन सकेको छैन।

पूर्वाधार विकास कार्यालयका प्रमुख रविन चोख्यालका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम पुल निर्माणको पछिल्लो म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्म कायम गरिएको छ। हालसम्म पुलको ७७ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको छ। मुख्य ठेकेदार कम्पनीले सहायक ठेकेदार (पेटी ठेकेदार) मार्फत काम गराउँदै आएकाले निर्माणमा बेवास्ता भएको कार्यालय प्रमुख चोख्यालले बताए। “पटकपटक ताकेता गर्दा पनि सहायक ठेकेदारका प्रतिनिधिको लापरबाहीले १० महिनादेखि काम रोकिएको छ,” उनले भने, “अब मुख्य निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवालालाई राखेर काम सक्ने प्रतिबद्धता गराउन बैठकको तयारी भइरहेको छ।”

कालीगण्डकी नदीमाथि निर्माणाधीन ३५ मिटर लामो र फुटपाथसहित ८.४ मिटर चौडाइको उक्त पुलका दुवैतर्फका एबुटमेन्टको ‘क्याप लेभल’ सम्मको काम सकिएको छ। अब स्ल्याब ढलान, एप्रोच सडक, फिनिसिङ तथा अन्य सहायक संरचनाको काम बाँकी छ। कालीगण्डकीपारिका गाउँलाई जोड्ने गरी सङ्घीय सरकारको डिभिजन सडक कार्यालय बागलुङमार्फत कालोपत्र सडक निर्माण भइसके पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ।

स्थानीय नवीन शेरचनले निर्माण कम्पनीले तदारुकता देखाएको भए चार वर्षअघि नै पुल बनिसक्ने उल्लेख गर्दै अहिलेको ढिलासुस्ती दुर्भाग्यपूर्ण रहेको बताए। पुल समयमै नबन्दा थासाङका तीन वडाका बासिन्दालाई मुख्य राजमार्गसम्म आवतजावत गर्न, कृषि उपज बजार पुर्‍याउन र पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर परेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !