३ मंसिर २०८३, बिहिबार

पूर्वमन्त्रीद्वय कुँवर र यादवलाई हिरासतमा राख्न चार दिन म्याद थप


पूर्वमन्त्रीद्वय कुँवर र यादवलाई हिरासतमा राख्न चार दिन म्याद थप

काठमाडौँ । मलेसिया जाने कामदारलाई अतिरिक्त शुल्कका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई अदालतले चार दिन थुनामा राख्न अनुमति दिएको छ । आज बिहीबार जिल्ला अदालत, काठमाडौंले उनीहरूलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रका आधारमा पक्राउ परेका पूर्वमन्त्रीद्वय कुँवर र यादवसहित ६ जनालाई हिरासतमा राख्न चार दिन म्याद थप भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई बुधबार राति पक्राउ गरिएको थियो।

तत्कालीन श्रमसचिव विनोद केसी, सहसचिवद्वय राजीव पोखरेल र उमेश ढुंगाना तथा उपसचिव निर्मला गुरुङ पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध ठगी तथा संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौता विपरित गैरकानुनी रुपमा ठगी गरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर तीन लाख ७० हजार ४३९ र बेलायती मुद्रा ३७ लाख १७ हजार ९०.८० गरी एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६.७६ रुपैयाँ अपचलन गरेको आरोप छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !