१ मंसिर २०८३, मंगलबार

दानबहादुर कार्कीको रिटमा भोलि प्रारम्भिक सुनुवाइ


दानबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरी प्रमुख (आईजीपी) बाट हटाएका दानबहादुर कार्कीको रिटमा भोलि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ । सरकारले जिम्मेवारीमुक्त गरेपछि गत कात्तिक २० गते कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट निवेदन दर्ता भएपछि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकमा मिति तोकेतापनि सरकारले त्यो दिन छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो । गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई उक्त जिम्मेवारीमुक्त गरी एआईजी मनोज केसीलाई प्रहरी प्रमुख बनाइएको छ ।

कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने सरकारको निर्णय गरेपछि कार्की आफूलाई कुनै सूचना र सुनुवाइको मौका नदिई हटाइएको जिकिरसहित सर्वोच्च पुगेका हुन् ।

मन्त्रिपरिषदको निर्णय गैरकानूनी भएको र त्यसले आफूलाई अन्याय भएको दावी सहित कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । केसीलाई प्रहरी प्रमुखमा नियुक्त, दर्ज्यानी चिह्न प्रदान गर्नेलगायत निर्णय रिटमा रोक्न माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !