२९ कार्तिक २०८३, आइतबार

हिमाली जिल्ला म्याग्दीमा सामूहिक रुपमा मनाइयो छठ पर्व


हिमाली जिल्ला म्याग्दीमा सामूहिक रुपमा मनाइयो छठ पर्व

काठमाडौं। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा तराई मूलका बासिन्दाले सामूहिक रुपमा छठ पर्व मनाएका छन्। म्याग्दीमा बसोबास गर्दै आएका नेपाली र भारतीय नागरिकले आइतबार जलजला गाउँपालिका-३ स्थित कालीगण्डकी नदी किनारमा भेला भएर छठी देवीको पूजाआजा गरेका हुन्।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वका अवसरमा व्रतालुहरूले आइतबार साँझ नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन्। व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व समापन गर्ने तयारी गरेका छन्। छठको विधिअनुसार व्रतालुले तीन दिनसम्म निर्जला व्रत बसेका छन्।

बेनीमा व्यवसाय गर्दै आएकी प्रतिमा शाहका अनुसार व्रतालुहरूले शुद्ध वस्त्र धारण गरी विधिपूर्वक पूजा गरेका हुन्। नाङ्लो, कनसुप्ती, ढकना, केरा, नरिवल, उखु, सुन्तला, कागती र ठकुवालगायतका सामग्रीसहितका प्रसाद चढाएर सूर्यको उपासना गरिएको छ। व्यावसायिक र पारिवारिक कारणले जन्मथलो जान नपाएकाहरूले पछिल्ला केही वर्षयता बेनीमै छठ मनाउने व्यवस्था मिलाएका हुन्।

स्थानीय बासिन्दा किसन शाहले जन्मथलो जान नपाए पनि आफू बसेकै ठाउँमा सामूहिक रुपमा पर्व मनाउन पाउँदा खुसी व्यक्त गरे। उमाशङ्कर शाहले बेनीमा अन्य समुदायले पनि छठको विधिप्रति चासो राख्दै शुभकामना दिएको बताए। म्याग्दीमा करिब २०० जना तराई मूलका बासिन्दा छन्। जसमध्ये करिब १०० जना यस वर्ष घर गएका र बाँकीले बेनीमै मनाएको सञ्जय ठाकुरले जानकारी दिए। विसं २०७७ देखि म्याग्दीमा छठ पर्व मनाउन थालिएको हो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !