९ कार्तिक २०८३, सोमबार

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल


प्रतिभा रावल

नारायणगढ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छन् ।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या र लालपुर्जा वितरण प्रक्रियाबारे छलफल गर्न तथा उनीहरूका गुनासा सुन्न चितवन पुगेकी मन्त्री रावलले यस्ताे बताएकी हुन् ।

साेमबार भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै उनले विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गरिन् । उनले भनिन्, ‘लालपुर्जा र राजनीतिलाई सँगै जोड्नु हुँदैन । तपाईंहरूले लालपुर्जा पाउनुपर्छ, त्यो तपाईंहरूको अधिकारको कुरा हो ।’

मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको उल्लेख गर्दै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘अब नीतिले तपाईंहरूको हकमा लालपुर्जा दिन रोक्दैन, अब नियतको कुरा हो । स्थानीय तहले प्रक्रिया छिटो अघि बढाउनुपर्छ र भूमि समितिले काम शीघ्र टुंग्याउनुपर्छ ।’

मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुम्बासीले लामो समयदेखि दुःख भोग्नुपरेको बताउँदै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !