काठमाडौँ । प्रकृतिले सिर्जना गरेका हरेक वस्तु, जीव र संरचना आफ्नै विशेषता, सौन्दर्य र अस्तित्व बोकेर आएका हुन्छन् । हिमालको उचाइ, नदीको प्रवाह, वनको हरियाली, मरुभूमिको शुष्कता, फूलको रङ, चराको स्वर र मानव जीवनको विविधता सबै प्रकृतिका अनुपम सिर्जना हुन् । प्रकृतिले कुनै वस्तुलाई अनावश्यक वा निरर्थक ठानेर सिर्जना गरेको हुँदैन । तर, हामीमध्ये धेरैले कुनै वस्तु वा परिस्थितिलाई आफ्नो अपेक्षा, आवश्यकता र स्वार्थको चस्माबाट हेर्ने गर्छौँ । त्यसैले कहिलेकाहीँ समस्या सृष्टिमा नभएर हाम्रो दृष्टिमा रहेको हुन्छ ।
एउटै पहाड कसैका लागि अवरोध हुन सक्छ भने कसैका लागि पर्यटनको अधिक सम्भावना । एउटै नदी कसैका लागि बाढीको जोखिम हुन सक्छ भने कसैका लागि जीवन, ऊर्जा र सभ्यताको आधार पनि । जङ्गल कसैलाई उजाडेर खाली जमिन बनाएर बस्ती बसाल्नुपर्ने जस्तो लाग्न सक्छ भने कुनै अर्कोका लागि त्यही जङ्गल असङ्ख्य जीवको घर, पानीको स्रोत र पृथ्वीको प्राणवायुको संरक्षक हुन सक्छ । वस्तु एउटै हो, तर त्यसलाई हेर्ने दृष्टिकोण फरक छ । यही फरक दृष्टिले हाम्रो बुझाइ, व्यवहार र निष्कर्षको निर्धारण गर्ने गर्दछ ।
हामी प्रायः प्रकृतिलाई आफूअनुकूल बनाउन खोज्छौँ । नदी आफ्नो बाटोमा बगेको हामीलाई मन पर्दैन, त्यसलाई बाँधेर आफ्नो आवश्यकता पूरा गर्न चाहन्छौँ । वन आफ्नै स्वरूपमा रहँदा हामीलाई पर्याप्त उपयोगी नलाग्न सक्छ, त्यसैले काठ, जमिन वा अन्य स्रोतका रूपमा प्रयोग गर्न खोज्छौँ । पहाडलाई प्राकृतिक रूपमा छोड्नुको सट्टा सडक, भवन, खानी वा अन्य पूर्वाधारका लागि काट्न थाल्छौँ । समुद्र, नदी, हिमाल, वन र जमिनलाई प्रकृतिका स्वतन्त्र अस्तित्वका रूपमा भन्दा आफ्नो आवश्यकता पूरा गर्ने साधनका रूपमा हेर्ने प्रवृत्ति बढ्दै गएको छ ।
प्रकृतिको उपयोग मानवीय स्वभाव हो, आफैँमा गलत होइन । किनभने मानव सभ्यताको विकास पनि प्रकृतिसँगको सहकार्य र प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोगबाटै सम्भव भएको हो । समस्या त्यतिबेला सुरु हुन्छ, जब उपयोग र दोहनबीचको सीमा मेटिन्छ । जब हामी प्रकृतिलाई आफ्नो इच्छाअनुसार चल्नुपर्ने वस्तु ठान्छौँ, तब प्रकृतिले आफ्नो स्वाभाविक नियमअनुसार प्रतिक्रिया दिँदा हामी त्यसलाई दोष दिन थाल्छौैँ । बाढी आयो भने हामी नदीलाई दोष दिन्छौँ, तर नदीको प्राकृतिक बहाव क्षेत्र मिचेर बनाइएका संरचनाबारे सोच्दैनौँ । पहिरो गयो भने पहाडलाई दोष दिन्छौँ, तर अनियन्त्रित सडक निर्माण, वन विनाश र भू–उपयोगको गलत अभ्यासबारे प्रश्न गर्दैनौँ । गर्मी बढ्यो भने मौसमलाई दोष दिन्छौँ, तर वन विनाश, प्रदूषण र अत्यधिक प्राकृतिक स्रोत दोहनमा आफ्नो भूमिका खोज्दैनौँ । यसरी हामी आफ्ना कर्मको परिणामलाई स्वीकार गर्नुको सट्टा सृष्टिलाई दोष दिएर आफूलाई निर्दोष देखाउने प्रयास गर्छौँ ।
वास्तवमा प्रकृति हाम्रो इच्छा पूरा गर्ने सेवक होइन । प्रकृति आफ्नै नियम, सन्तुलन र प्रक्रियामा चल्छ । हामीले त्यसलाई बुझ्न र त्यससँग अनुकूल भएर अघि बढ्नुपर्छ । प्रकृतिलाई जित्ने होइन, प्रकृतिसँग सहअस्तित्व कायम गर्ने सोच आवश्यक छ ।मानव जीवनमा पनि यही कुरा लागू हुन्छ । हामी मानिसलाई पनि आफ्नो दृष्टिकोणअनुसार सुन्दर वा कुरूप, सक्षम वा कमजोर, सफल वा असफल भनेर वर्गीकरण गर्छौँ । कसैको शारीरिक रूप हाम्रो सौन्दर्यको मापदण्डसँग मेल खाएन भने हामी उसलाई कम सुन्दर ठान्छौँ । कसैको जीवनशैली हाम्रो सोचभन्दा फरक भयो भने उसलाई गलत ठान्छौँ । फरक क्षमता भएको व्यक्तिलाई समाजले कहिलेकाहीँ उसको क्षमताभन्दा उसको सीमाबाट चिन्ने गर्छ । यहाँ पनि समस्या व्यक्तिमा मात्र होइन, उसलाई हेर्ने हाम्रो दृष्टिकोणमा हुन्छ ।
सौन्दर्यको कुनै एउटै विश्वव्यापी मापदण्ड हुँदैन । हिमालको सौन्दर्य समुद्रको सौन्दर्यजस्तो हुँदैन, फूलको सौन्दर्य रूखको सौन्दर्यजस्तो हुँदैन र नदीको सौन्दर्य तालको जस्तो हुँदैन । त्यसैले त प्रत्येक मानिसको आफ्नै विशेषता हुन्छ । विविधता नै प्रकृतिको सौन्दर्य हो । यदि संसारमा एउटै रङ, एउटै आकार, एउटै आवाज र एउटै प्रकारका मानिस मात्र हुन्थे भने सृष्टि कति नीरस हुन्थ्यो होला ! तर आधुनिक समाजमा हामीले सौन्दर्यलाई पनि बजार र स्वार्थसँग जोड्न थालेका छौँ । प्राकृतिक वस्तुमा पनि मूल्यको हिसाब खोज्छौँ । कुनै स्थान सुन्दर छ भने त्यसलाई पर्यटनको व्यापारसँग जोड्छौँ । कुनै वनमा मूल्यवान् स्रोत छ भने त्यसलाई आर्थिक लाभसँग जोड्छौँ । कुनै नदीबाट विद्युत् उत्पादन हुन सक्छ भने त्यसको प्राकृतिक अस्तित्वभन्दा आर्थिक सम्भावनालाई प्राथमिकता दिन्छौँ । प्रकृतिको मूल्य केवल त्यसबाट कति पैसा कमाउन सकिन्छ भन्ने आधारमा मापन गर्न थाल्यौँ भने हामीले प्रकृतिको वास्तविक मूल्य बुझ्न सक्दैनौँ ।
प्रकृति केवल स्रोत होइन, अस्तित्वको आधार पनि हो । नदी केवल पानी होइन; वन केवल काठ होइन; हिमाल केवल पर्यटनको दृश्य होइन; जमिन केवल सम्पत्ति होइन । यी सबैको आफ्नै पारिस्थितिक, सामाजिक, सांस्कृतिक र जीवनदायी मूल्य छ । हामीले आफ्नो स्वार्थ पूरा गर्न प्रकृतिको कुनै अंशलाई आफूअनुकूल प्रयोग गर्न पाएनौँ भन्दैमा त्यो प्रकृति खराब हुँदैन । कहिलेकाहीँ हाम्रो अपेक्षा र वास्तविकताबीचको दूरीले पनि हामीलाई सृष्टिप्रति असन्तुष्ट बनाउँछ । हामी जीवनमा सबै कुरा आफूले चाहेअनुसार होस् भन्ने चाहन्छौँ । मौसम आफूअनुकूल होस्, मानिस आफूअनुकूल व्यवहार गरून्, प्रकृति आफूले चाहेको रूपमा उपलब्ध होस् र परिस्थितिले सधैँ हाम्रो पक्षमा काम गरोस् भन्ने अपेक्षा राख्छौँ । तर जीवन र प्रकृतिको आफ्नै गति हुन्छ । हाम्रो इच्छाले मात्र संसार चल्दैन ।
त्यसैले परिवर्तन गर्नुपर्ने पहिलो कुरा सृष्टि होइन, दृष्टि हो । यदि हामीले प्रकृतिलाई उपभोगको वस्तु होइन, सहयात्रीका रूपमा हेर्न थाल्यौँ भने हाम्रो व्यवहार बदलिन्छ । यदि मानिसलाई उसको बाहिरी रूप, सम्पत्ति वा सामाजिक हैसियतबाट होइन, उसको मानवीय मूल्यबाट हेर्न थाल्यौँ भने समाज बदलिन्छ । अनि फरकपनलाई कमजोरी होइन, विविधताको रूपमा बुझ्न थाल्यौँ भने सम्बन्धहरू अझ सुन्दर हुन्छन् ।
दृष्टिकोण परिवर्तन भएपछि त्यही संसार फरक देखिन्छ । वर्षामा कसैले हिलो र असुविधा देख्न सक्छ, अर्कोले जीवन दिने पानी देख्न सक्छ । शरद्को सुक्खा पातमा कसैले अन्त्य देख्न सक्छ, अर्कोले नयाँ जीवनका लागि प्रकृतिको तयारी देख्न सक्छ । पहाडको कठिन बाटोमा कसैले समस्या देख्न सक्छ, अर्कोले सम्भावना र साहस देख्न सक्छ । त्यसैले संसार सधैँ हामीले हेरेजस्तो मात्र हुँदैन; हामीले जसरी हेर्छौँ, संसारको अर्थ पनि त्यसैअनुसार निर्माण हुन्छ ।
हाम्रो सभ्यताको भविष्य पनि यही दृष्टिकोणमा निर्भर छ । प्रकृतिमाथि प्रभुत्व जमाउने अहंकारले हामीलाई दीर्घकालीन सङ्कटतर्फ लैजान सक्छ । प्रकृतिसँग सहअस्तित्वको दृष्टिले भने दिगो विकासको बाटो खोल्न सक्छ । विकासको अर्थ प्रकृतिलाई नष्ट गरेर संरचना थप्नु मात्र होइन, प्रकृतिको अस्तित्व जोगाउँदै मानव आवश्यकताबीच सन्तुलन कायम गर्नु पनि हो ।
अन्ततः सृष्टिले हामीलाई विविधता दिएको छ, हामीले त्यसमा अर्थ खोज्ने दृष्टि पाएका छौँ । त्यसैले सृष्टिको हरेक सिर्जनामा दोष खोज्नुभन्दा पहिले आफ्नो दृष्टिकोणलाई हेर्न आवश्यक छ । हामीले आफ्नो स्वार्थअनुकूल प्रकृतिलाई प्रयोग गर्न खोज्यौँ, प्रकृतिले हाम्रो इच्छा पूरा गरेन भने त्यसलाई दोष दियौँ भने दोष प्रकृतिको होइन, हाम्रो सोचको हुन सक्छ । प्रकृतिले आफ्नो काम गरिरहेकै हुन्छ । फूल फूलेकै छ, नदी बगेकै छ, हिमाल आफैँ उभिएकै छ, वन हुर्किएकै छ, ऋतुहरु फेरिइनै रहेका छन् । त्यसैले त चराचर जगतको जीवन निरन्तर अगाडि बढेको छ । प्रश्न यति मात्र हो— हामी यो सब जीवन र जगतलाई कसरी हेर्छौँ ।












