काठमाडौँ । आजदेखि अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट लिने यात्रीको घुइँचो लागेको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनको टिकट लिने यात्रीको त्यहाँ घुइँचो लागेको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुन्यप्रसाद सिटौलाका अनुसार देशभरका सबै क्षेत्रमा जाने लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
यसैबीच, प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख शङ्कर श्रेष्ठले चाडपर्वमा आपराधिक गतिविधि हुने सम्भावना अधिक भएकाले बसपार्क क्षेत्रका साथै अन्यत्र पनि शान्तिसुरक्षाको सुदृढ प्रबन्ध मिलाइएको राससलाई जानकारी दिनुभयो । त्यसनिम्ति सादा पोशाकमा प्रहरी परिचालन भएका छन् ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच गत मङ्गलबार चाडपर्वलक्षित यातायात सेवाका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको थियो ।








