काठमाडौँ । वरिष्ठ बलिउड अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको कार्डियक अरेस्टबाट आज बिहान ७५ वर्षको उमेरमा निधन भएको जनाइएको छ ।
भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, बिहान ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार प्रारम्भिक विवरणअनुसार पाटेकरलाई हृदयाघात भएको थियो । अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए । तर, कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुख डा. शेखर सालकरले जानकारी दिए।
हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरले ‘परिंदा’, ‘क्रान्तिवीर’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायत चलचित्रबाट व्यापक पहिचान बनाएका थिए।
शानदार अभिनय, विशिष्ट संवाद शैली र प्रभावशाली पर्दा उपस्थितिका लागि परिचित पाटेकरले विभिन्न पुस्ताका दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनको निधनको खबरपछि भारतीय मनोरञ्जन क्षेत्र र उनका प्रशंसकमाझ शोक छाएको छ।
नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको अन्तिम संस्कार र परिवारको आधिकारिक वक्तव्यबारे थप विवरण आउन बाँकी छ ।









