काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदम’बाट सत्तामा आएकाहरूले देशलाई युक्रेन बनाउन सक्ने आरोप लागेका छन् । महाधिवेशन अन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले यस्तो आरोप लगाएका हुन् ।
आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताए । उनले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने धारणा राखे । उनले भने – ‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन ।’
उनले कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताए । आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए।
उनले महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले नेपाली कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको बताए । कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको दाबी गरे ।
विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिएको भए पनि अहिले १८ वर्षका युवा–युवतीदेखि सबै उमेर समूहका मानिस कांग्रेसमा जोडिएको उनले बताए ।
महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए ।









