५ आश्विन २०८३, सोमबार

त्रिपुरेश्वरमा यात्रुबाहक बसमा आगलागी


त्रिपुरेश्वरमा यात्रुबाहक बसमा आगलागी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सोमबार यात्रुबाहक बसमा आगलागी हुँदा चालक घाइते भएका छन्। प्रहरीका अनुसार रिद्धिसिद्धी यातायात अन्तर्गत सञ्चालन भइरहेको बा ५ ख ४२७४ नम्बरको बस मा अचानक आगलागी भएको हो ।

आगलागीका क्रममा बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। घटनालगत्तै प्रहरी, दमकल र स्थानीयवासी आगो नियन्त्रणमा जुटेका थिए । आगलागीबाट बसमा क्षति पुगेको भए पनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइते चालक लामालाई तत्काल उद्धार गरी उपचारका लागि किर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ । उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुन बाँकी छ।

प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ । बसमा प्राविधिक समस्या, विद्युतीय सर्ट वा अन्य कारणमध्ये के कारणले आगो लागेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।

व्यस्त क्षेत्र त्रिपुरेश्वरमा भएको आगलागीका कारण केही समय यातायात आवागमनसमेत प्रभावित भएको थियो । आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !