काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज नेपाली महिलाले अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा–आराधना गरी मनाएका छन्।
महिलाहरू आज बिहानै उठेर नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन्। बागमती, मनोहरा, रुद्रमतीलगायत नदी किनारका मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ रहेकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन्।
रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भनिएको हो।
रजस्वला भएका बेला अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसका कारण महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने तथा जानी–नजानी छोइछाई भएमा आजका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन्। त्यसैले यस पर्वलाई वैज्ञानिक मान्नु पर्ने उनको भनाइ छ।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नु पर्ने व्रतविधि छ। प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ। ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजदेखि समापन भएको छ।









