२९ भदौ २०८३, सोमबार

भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह


वालेन्द्र शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन पुनःस्थापनामा प्रयोग गर्ने तयारी भइरहेको बताए ।

उनले बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा व्यवस्थापनको काम भएको भन्दै यसले जनप्रतिनिधि र स्थानीयको मनोबल उच्च राख्न सहयोग पुग्ने बताए ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको उल्लेख गरे। सडक सञ्चालनमा आएपछि प्रभावितलाई पूर्ववत् अवस्थामा फर्किन सहज हुने उनको विश्वास छ ।

उनले नदी तटीय क्षेत्रमा रहेका बस्ती पुनः जोखिममा पर्नसक्ने भएकाले प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए । सरकारले नजिकैको सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्ने तयारी थालेको जानकारी दिँदै उनले रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिएर वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री शाहले सुरक्षित स्थानमा आवश्यक जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। छलफलबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्नसमेत सहयोग पुगेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !