सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
गएराति ०२:५० बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी, र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुवै जनाको उद्धार गरी बिहान ०३:२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा पठाएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-३ बस्ने २९ वर्षीय पारस थापाको बिहान ०५:११ बजे मृत्यु भएको अस्पतालमा खटिएको प्रहरी कर्मचारीमार्फत जानकारी प्राप्त भएको छ ।
त्यस्तै, मोटरसाइकलमा पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी इनरुवा नगरपालिका-३ बस्ने ३४ वर्षीय सागर रेग्मीको उपचारका क्रममा बिहान ०४:५२ बजे मृत्यु भएको हो । दुर्घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।









