२६ भदौ २०८३, शुक्रबार

निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइन्छ : प्रधानमन्त्री शाह


बालेन शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताएका छन् । शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्दै लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए ।

सो क्रममा प्रधानमन्त्री शाहले उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिएका छलफलमा सहभागी रास्वपा सांसद विदुषी राणाले जानकारी दिइन् ।

नेपालमा स्वदेशका व्यवसायीहरूले र त्यसपछि गैरआवासीय नेपाली लगानी गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले बाह्य विदेशी लगानी तेस्रो प्राथमिकतामा रहने बताउनुभएको सांसद राणाले बताइन् । व्यवसायीहरूले नेपाली व्यवसायीहरू ठुला पूर्वाधार निर्माणमा सक्षम रहेको र त्यसका लागि नीतिगत तथा कानुनी सुधार आवश्यक रहेको धारणा राखेका थिए ।

अर्थतन्त्रमा निजी क्षेत्रको ८० प्रतिशत योगदान रहेकाले मनोबल उच्च राख्न राज्यले अनुकूल वातावरण बनाउनुपर्नेमा व्यवसायीहरूको जोड रहेको सांसद राणाले बताइन् । त्यस्तै, व्यवसायीहरूले आरोप लाग्ने बित्तिकै व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने परिपाटीले मनोबल घटाएको गुनासो गरेका थिए ।

निजी क्षेत्रका समस्या, कानुन संशोधन र लगानीको वातावरणबारे समीक्षा गर्न प्रधानमन्त्री कार्यालयबाट प्रत्येक तीन–तीन महिनामा निजी क्षेत्रसँग नियमित छलफल गर्ने समझदारी बनेको सांसद राणाको भनाइ छ । छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !