काठमाडौँ । पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन नरोके कांग्रेस विभाजन हुने चेतावनी दिएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा आज नेता लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुने चेतावनी दिएका हुन् ।
उनले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताए । विशेष महाधिवेशन र १४ औं महाधिवेशनबाट बनेको कार्यसमितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्ने उनले बताए ।
लेखकले पार्टी सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको बताए । निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्न तथा आफ्नो बहुमत राख्न सक्ने भए पनि अन्य समूहबाट एक–एक जना प्रतिनिधि राख्नुपर्ने आफूहरूको प्रस्ताव रहेको लेखकले बताए ।









