काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई मात्र राहत सामग्री वितरणमा प्राथमिकता दिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री गुरुङनिकट संस्थालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका हुन् ।
पार्टीले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको बाढी पहिरो विपद् व्यवस्थापन सम्बन्धी बैठकमा आङदेम्बेले त्यस्तो बताएका हुन् ।
गृहमन्त्री गुरुङको संस्था ‘हामी नेपाल’ हो । यो संस्थालाई मात्रै राहत वितरणको अवसर दिएको भन्दै नेता आङ्देम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको क्रममा त्यसो गर्नु ठिक नभएको भनेको बताए ।
उनले रसुवामा राहत सामग्री नपुगेको गुनासो आएको पनि बताए । नुवाकोटको विदुरमा राहत थुप्रिँदा भीषण बाढीबाट सर्वाधिक प्रभावित रसुवामा राहत नपुग्नु ठिक नभएको उनको भनाइ छ ।
आङ्देम्बेले कांग्रेस पनि विपद्को समयमा राजनीतिक प्रचारभन्दा विशुद्ध मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताए । नेपाल तरुण दललगायत पार्टीका भ्रातृ संस्थालाई समेत पार्टीको झन्डा बोकेर राहत वितरण नगर्न निर्देशन दिइएको उनले जानकारी दिए ।
उनले प्रधानमन्त्री बालेनसँग भोटेकोशी र त्रिशूलीमा बाढीमा पुल गएको भन्दै तत्कालका लागि तुइनको व्यवस्था गर्न आग्रह गरिएको पनि बताए । यस्तै, उनले अन्तर्राष्ट्रिय उद्धार टोलीहरूलाई उद्धार गर्न तत्काल अनुमति दिइयोस् भनेर प्रधानमन्त्री बालेनसँग माग गरिएको पनि बताए ।









