नारायणगढ । त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसीआरसी) को मापदण्डअनुसार वैज्ञानिक ढङ्गले जमिनमुनि व्यवस्थापन सुरु गरिएको हो । चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म २५९ शव फेला परेका छन् । तीमध्ये नौ जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ ।
शनिबार पहिचान हुन नसकेका ९६ शवमध्ये पहिलो चरणमा डिएनएका लागि नमूना सङ्कलन गरिएका २६ शवलाई देवघाटमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव व्यवस्थापनको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो । डिएनएका लागि नमूना सङ्कलन सम्पन्न भएका तर आफन्तबाट पहिचान हुन नसकेका शवलाई क्रमशः देवघाटमा लगेर जमिनमुनि व्यवस्थापन गर्ने कार्य जारी रहनेछ । प्रत्येक शवलाई १.५ मिटर गहिरो खाडलमा एक–एक गरी राखिनेछ भने एउटा शव र अर्को शवबीच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ । भविष्यमा डिएनए परीक्षणबाट पहिचान पुष्टि भएमा शव सहजै निकाल्न सकिने व्यवस्था मिलाइएको उनले बताए ।
प्रहरी उपरीक्षक पौडेलले भने, “प्रत्येक शवको हात वा खुट्टामा नष्ट नहुने सङ्केत ट्याग बाँधिएको छ । शव जमिनमुनि व्यवस्थापन गरेपछि ठ्याक्कै त्यसको माथि देखिने गरी स्ट्यान्ड राखेर सामान्य कङ्क्रिट ढलान गरिन्छ र सोही कोड नम्बर अङ्कित गरिन्छ ।”
भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डा कश्यप श्रेष्ठले शवको पहिचानलाई केन्द्रमा राखेर फरेन्सिक, डेन्टल र अन्य स्वास्थ्यकर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताए । उनका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने, गल्ने र बाह्य रूपमा पहिचान गर्न कठिन हुने भएकाले डिएनएका लागि आवश्यक जैविक नमूना सङ्कलन गरिएको हो । डेन्टल टोलीले विशेषगरी पछाडिका मोलार दाँतबाट डिएनएका लागि नमूना सङ्कलन गरिरहेको उनले जानकारी दिए । डा श्रेष्ठका अनुसार प्रत्येक शवको ट्याग कोडअनुसार डिएनएका लागि नमूना सङ्कलन गरिएको छ । भविष्यमा आफन्तबाट प्राप्त नमूनासँग मिलान गरी शवको पहिचान गर्न सकियोस् भनेर आवश्यक अन्य जैविक नमूनासमेत सुरक्षित रूपमा सङ्कलन गरिएको उनले बताए ।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार शुक्रबारसम्म चारवटा फरेन्सिक विज्ञ टोली परिचालन गरिएकामा शनिबार थप सात जनाको चिकित्सकीय टोली परिचालन गरिएको थियो । फरेन्सिक टोलीमा भरतपुर अस्पतालका दुई, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरका एक–एक, भेरी अस्पतालका एक तथा नेपाल मेडिकल कलेजका एक जना चिकित्सक रहेको उनले बताए । त्यसैगरी डिएनएका लागि नमूना सङ्कलन तथा अन्य चिकित्सकीय कामका लागि थप टोलीसमेत परिचालन गरिएको छ ।
डिएनएका लागि नमूना सङ्कलनमा खटिएका पुरानो मेडिकल कलेज भरतपुरका दन्तरोग विशेषज्ञ डा प्रभास रोयले शवको दाँत तथा बङ्गाराबाट डिएनए नमूना सङ्कलन गरिएको बताए । उनले भने, “दाँतबाट डिएनए नमूना सङ्कलन गर्न दुईदुई वटा दाँत र दाँत नभएका शवमा हड्डीका टुक्रा निकालेर फरेन्सिक टोलीलाई बुझाएका छौँ ।”









