काठमाडौँ । चीनको जलस्रोत मन्त्रालयले छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको जनाएको छ । बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको छ ।
तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला सीमापारि आपसमा मिसिन्छन् । तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ । भोटेकोशी नै त्रिशूली नदीको मुख्य माथिल्लो शाखा हो ।
चीनको केन्द्रीय टेलिभिजन (सीसीटीभी) का अनुसार आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा थपिने अनुमान गरिएको छ । यसले ताल फुट्ने जोखिम उच्च रहेको जनाइएको छ ।
मन्त्रालयले तालको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको पनि जनाएको उक्त खबरमा उल्लेख छ । ताल फुट्ने सम्भावित अवस्थाको पूर्वानुमान गर्न बाढीको सिमुलेसन तथा विश्लेषण गरिरहेको र आपत्कालीन उद्धार कार्यमा आवश्यक सहयोग पुर्याउने तयारीसमेत गरिरहेको मन्त्रालयले जनाएको छ । इसिमोडले पनि बादल लागेकाले उक्त क्षेत्रको स्याटेलाइट तस्बिर स्पष्टसँग नआएको बताएको छ ।








