१० भदौ २०८३, बुधबार

संसद बैठक अनिश्चितकालका लागि स्थगित


संसद बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

आज बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले भोलि बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए । तर पछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको छ ।

भोटेकोसी बाढीमा सरकार र सांसद राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगन गरिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक आज बसेको थियो । बैठकमा बाढीबारे आकस्मिक समयमा सांसदहरूले धारणा राखेका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारको तर्फबाट सदनलाई जानकारी गराएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले भोलिका लागि बैठक तय गरेका थिए ।

हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !