काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधिको विकाससँगै समाजलाई नैतिकता, आचरण र इमान्दारीको खाँचो रहेको बताएका छन्। नेपाल जनप्रशासन सङ्घद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै उनले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने भए पनि आचरण, नैतिकता र इमान्दारी व्यक्तिको अन्तस्करणसँग जोडिएको विषय भएको बताए।
“आधुनिक प्रविधिसँगै आधुनिक प्रशासन चाहिन्छ। तर आधुनिक प्रशासनको आधार पनि नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने भावलाई बिर्सनु हुँदैन”, राष्ट्रपति पौडेलले भने, “मलाई लाग्छ, आज हाम्रो समाजलाई त्यही नैतिकता, आचरण र इमान्दारीको अलिक बढी खाँचो छ।”
प्रविधिको विकास र परिवर्तनको गति तीव्र भइरहेको उल्लेख गर्दै उनले कृत्रिम बौद्धिकता, डिजिटल शासन, विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन तथा व्यवस्थापनका परम्परागत अभ्यासलाई समयानुकूल परिवर्तन गरिरहेको बताए।
“प्रविधि परिवर्तन भए पनि केही मूल्य कहिल्यै पुराना हुँदैनन् इमान्दारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको प्रतिबद्धता”, उनले भने।
राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहना सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताए। सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन आर्थिक विकासका सूचकबाट मात्र गर्न नहुने उनको भनाइ थियो।
“जनताले राज्यबाट झन्झटरहित तरिकाले पाउने छिटोछरितो र गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पारदर्शिता, संस्थाको जवाफदेहिता, न्यायपूर्ण व्यवहार, विधिको शासन र सार्वजनिक संस्थाप्रतिको विश्वासलाई पनि हामीले बिर्सनु हुँदैन”, उनले भने।
उनले दिगो विकास सक्षम संस्था, दक्ष संस्थागत नेतृत्वसहित उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृतिमा निर्भर रहने उल्लेख गरे। नेपाल जनप्रशासन सङ्घजस्ता पेसागत तथा प्राज्ञिक संस्थाले नीति निर्माण, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा विगतमा जस्तै आगामी दिनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले सफल प्रशासक तथा व्यवस्थापकका रूपमा स्थापित स्वर्गीय हेमबहादुर मल्लको योगदानलाई स्मरणीय बनाउन सम्मान कार्यक्रमलाई निरन्तरता दिनु खुसीको विषय भएको राष्ट्रपति पौडेलले बताए। राज्य, पेसागत संस्था, सार्वजनिक संस्थान र समाजबीचको सहकार्यले राष्ट्रनिर्माणमा योगदान गर्नसक्ने उनको अभिमत थियो।
सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै नागरिकको अपेक्षाअनुरूप देश विकासको चाहनालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको बताए।
राष्ट्रपति पौडेलले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित डा. रामकण्ठ माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई बधाई दिँदै सार्वजनिक सेवाप्रतिको उनीहरूको समर्पण र राष्ट्रनिर्माणमा पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरिएको बताए।









