काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्ने दिन आज शुक्रबार नै प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह पोखरा हुँकिएका छन् । अहिले रास्वपाको दोस्रो केन्द्रीय समितिको बैठक जारी रहेको छ।
तर प्रधानमन्त्री शाह त्यसअघि बिहानै गाडीमा पोखरातर्फ लागेका हुन् । जसले गर्दा आजको बैठकमा पनि उनी अनुपस्थित रहने छन् । शाहलाई गत साउन १३ गते मात्र रास्वपाले वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो ।
आज बस्ने रास्वपाको बैठकमा पार्टीको दस्तावेज, स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुँदै छ ।
केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन बैठकका एजेन्डा रहेका छन् । स्थानीय निर्वाचनका लागि केन्द्रीय उमेदवार छनोट समिति सदस्य मनोनयन, योजना, कार्यक्रम तथा अभियानको विषय पनि बैठकको एजेन्डा रहेको छ ।
तर यस्तो महत्त्वपूर्ण बैठकमा वरिष्ठ नेता बालेन भने अनुपस्थित हुने भएका छन्। उनलाई प्रथम महाधिवेशनपछि रास्वपाले गत साउन १३ गते वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो । उनी रास्वपा संसदीय दलका नेता पनि हुन् ।









