काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका छन्। आज मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।
नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवाले आइतबार इतर समूहद्वारा आयोजित भेलालाई समापन गर्ने क्रममा ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए । सो भेलाले संविधानको मर्मविपरीत हिन्दु धर्मको पक्षपोषण हुने गरी निर्णयसमेत गरेको थियो।
देउवाको अभिव्यक्ति र कांग्रेस इतर समूहको पाँचबुँदे निर्णयतर्फ इङ्गित गर्दै प्रचण्डले संविधानविरोधी गतिविधि र अभिव्यक्ति नदिन सचेत गराएको जानकारी पार्टी नेता हिमाल शर्माले दिए।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र व्यवस्थाविपरीत अगाडि बढेको आरोप लगाउँदै सडक आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई अपिल गरे। वर्तमान सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा मिडियामाथि प्रहार गरेर आवाज दबाउने काम भइरहेको उनको आरोप थियो।









