काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहज्यूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका थिए ।
सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधानसेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।









