१ भदौ २०८३, सोमबार

काभ्रेपलाञ्चोकमा जिप दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते


सवारी दुर्घटना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा आज बिहान बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउरीथलीमा नम्बर नखुलेको बोलेरो जिप सडकबाट दुर्घटना भएको हो । दुर्घटनामा जिपमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रबिन विष्टका अनुसार घाइतेको उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । घाइतेलाई बेथानचोक गाउँपालिका–५ कामीडाँडास्थित खेलमैदानसम्म एम्बुलेन्समार्फत ल्याउने कार्य भइरहेको छ भने थप उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेको उहाँले जानकारी दिए ।

खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर तामाङका अनुसार घाइतेको उद्धारका लागि हेलिकप्टरको व्यवस्थापन गरिए पनि बाक्लो कुहिरोका कारण अवतरण गर्न नसकेपछि एम्बुलेन्समार्फत कामीडाँडासम्म ल्याउने तयारी गरिएको छ । कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेलाई थप उपचारका लागि लैजाने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !