धनगढी । सडक अनुगमनका लागि सुदूरपश्चिम पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि बैतडीबाट नेपाली सेनाको हेलिकप्टरमा धनगढी ल्याइएको छ । आज आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो ।
उनलाई उच्च ज्वरो रहेको र खोकी समेत रहेको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मन्त्री लम्साल अनुगमनकै क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए ।
तर बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या आएपछि उनको पूर्वनिर्धारित सडक अनुगमन कार्यक्रम प्रभावित भएको छ । उनलाई धनगढीबाट काठमाडौं लगिने बताइएको छ ।
लम्सालको टोली गत शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।









