काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन् ।
चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरेका छन् ।
“सरकारले लगानीको माहोल बनाइरहेको छ । देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ”, उनले भने “एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ । त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु ।” मन्त्री वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गरेका छन्।
“प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस् । पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्”, उनले भने, “सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ ।” अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए ।
सरकारको आम्दानी बढाउन कर प्रणालीमा सुधार गरेको पनि उनको भनाइ छ । बजेटमार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको सुरुआत मात्रै गरेको उनले उल्लेख गरे ।









