काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही ढिलो गरी अहिले सुरु भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले “खानी तथा खनिज पदार्थ, विधेयक, २०८३” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख मंगलबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरूले उठेर विरोध गर्दै आइरहेका छन् । तर, न प्रधानमन्त्री शाहले त्यसबारे प्रष्टीकरण दिएका छन् न त त्यो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिएका छन् ।









