जनकपुर । वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । जनकपुर निवासी ७९ वर्षीय डा. विमलको गएराति प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा निधन भएको हो ।
राति घरमै नातिसँग खेलिरहेका उनको स्वास्थ्यमा एक्कासि समस्या उत्पन्न भएपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको छोरा विभास लाभले बताए । उनको उपचारको क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि १ बजेतिर निधन भएको हो ।
उनको आजै स्वर्गद्धारीमा अन्त्येष्टि गरिने र अन्तिम श्रद्धाञ्जलीको लागि अहिले निजी निवास जनकपुर १० देवीचौकमा राखिएको छ । अध्यापन पेसामा लामो समय काम गरेका उनले विज्ञान विषयमा विद्यावारिधी गर्दै नेपाली, हिन्दी तथा अंग्रेजीमा स्नाकोत्तर गरेका थिए ।
बाल्यकालदेखि नै साहित्यमा रुचि देखाएका उनको विभिन्न कथा, नाटक तथा लघुकथाहरू प्रकाशन भएका छन् । बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् ।
भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए ।
नेपाली तथा मैथिली भाषामा उच्च योगदान पुर्याएको भन्दै डा.विमल २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट पनि सम्मानित भएका थिए । उनको आजै दिउँसो ३ बजे जनकपुरधाम स्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने डा. विजय दत्तले जानकारी दिए ।









