नारायणगढ । चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको अभियानमा रहेका मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनमा विश्वकै प्रमुख गन्तव्य एवं केन्द्र बनाउनुपर्ने बताएका छन् । मुलुकमा आफूले सुरु गरेको वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धन, नेपालका ऐतिहासिक, पौराणिक एवं पवित्र तीर्थस्थलहरुको पहिचान र प्रचार, गण्डकीसहित शालग्राम सभ्यताको संरक्षण र मुक्तिनाथको सेवाको प्रमुख उद्देश्य पनि यही रहेको उनको भनाइ छ ।
पछिल्लो समय नेपाललाई वैदिक ज्ञान र दर्शनको विश्वको एक प्रमुख गन्तव्य बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्नेमा स्वामी कमलनयनाचार्यको जोड छ । नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्र मोक्ष दिव्यधाममा मङ्सिर १ देखि सुरु भएको अष्टाचल धनधाञ्यचल विराट महायज्ञ पनि यही बृहत् सङ्कल्पकै एक कडी हो ।
महायज्ञका लागि मुक्तिनाथबाट सुरु भएको एकमहिने रथयात्रा गत कात्तिक ३० गते धाममा आइपुगेको थियो । त्यसै अवसरमा रासससँग कुराकानी गर्दै उनले भने, ‘नेपालमा अनेकौँ विश्वविद्यालय छन् । संस्कृत विश्वविद्यालय पनि छ । तर वैदिक ज्ञान, पूर्वीय दर्शन र वाङ्मयको संरक्षण, अनुसन्धान तथा अन्तरराष्ट्रिय अध्ययनका लागि विशिष्ट वैदिक विश्वविद्यालयको आवश्यकता छ । अबको मेरो नयाँ लक्ष्य भनौँ या सङ्कल्प यही हो ।’
धार्मिक या सनातनी कार्य भनेको पूजा, पाठ र यज्ञमा मात्र सीमित नराखी यसमार्फत सामाजिक रूपान्तरण, शिक्षा र संस्कृतिको विकास एवं राष्ट्रिय समृद्धि निर्माण हुनुपर्ने स्वामी कमलनयनाचार्यको भनाइ छ । काठमाडौँ र भक्तपुर सङ्गमको पञ्चमहालक्ष्मी श्रीपीठ, बागलुङको पञ्चकोट सर्वसिद्धिधाम, मुक्तिनाथ जाने साधुसन्त तथा तीर्थयात्रीको सेवा तथा आश्रम, गौसेवा र अनेकौँ संस्कृत वेदविद्याश्रम, गजेन्द्रमोक्ष दिव्यधाम आदिको निर्माण उनको अभियानका पछिल्ला केही तीर्थस्थल र धार्मिक पर्यटकीय पूर्वाधार हुन् ।
स्वामी कमलनयनाचार्यले अखण्ड ज्योति बाबा श्रीजी च्यारिटेबल ट्रष्ट र नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको अगुवाइमा धार्मिक तथा सामाजिक अभियान सञ्चालन गर्दै आएका छन् । यो पछिल्लो महायज्ञको महत्वपूर्ण उद्देश्य श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमलाई स्तरोन्नति गर्दै वैदिक विश्वविद्यालय स्थापना गर्नु हो । साथै गजेन्द्रमोक्षको पौराणिक महिमा र नेपालको धार्मिक पहिचानलाई विश्वसमक्ष स्थापित गर्ने माध्यम पनि हो ।
उनी भन्छन्, ‘हामीले हाम्रा धार्मिक, सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्नसके नेपाल विश्वकै महत्वपूर्ण आध्यात्मिक गन्तव्य बन्न सक्दछ । अहिले दुनियाँ शान्ति, पूर्वीय दर्शन र चिन्तनमा आकर्षित छ । यस कार्यको प्रमुख केन्द्र अथवा उत्कृष्ट गन्तव्य नेपाल नै बन्न सक्दछ र बनाउनुपर्छ ।’
विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथ धामप्रतिको समर्पण स्वामी कमलनयनाचार्यको जीवनको महत्वपूर्ण पक्ष हो । उनले मुक्तिनाथ क्षेत्रको धार्मिक सेवा र तीर्थयात्रीको सुविधाका लागि करिब चार दशकदेखि काम गर्दै आएका छन् । त्यहाँ साधुसन्त, तीर्थयात्री र बिरामीको सेवामा विभिन्न सेवा परियोजना सञ्चालनमा छन् ।
मुक्तिनाथको धार्मिक महिमा विश्वका प्रसिद्ध तीर्थस्थलभन्दा माथि रहेको भए पनि आफ्नै तीर्थस्थलको पर्याप्त प्रचार गर्न नसकिएको स्वामी कमलनयनाचार्यको गुनासो छ । मुक्तिनाथको धार्मिक महिमा देशभर फैलाउने उद्देश्यले नै मुक्तिनाथ रथयात्रा सुरु गरिएको थियो ।
यस वर्ष गत कात्तिक ८ गते सुरु भएको रथयात्रा सम्पूर्ण देश दर्शन गरी ३० गते गजेन्द्रमोक्ष धाम पुगेको हो । उनले भने, ‘रथयात्राको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्नु, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्नु, सनातन संस्कृतिका मौलिक मूल्य–मान्यताको संरक्षण गर्नु र नेपालका गौरवशाली धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु हो ।’
रथयात्रासँगै गण्डकीको जल, हरिद्वारमा सम्पन्न महायज्ञको कलश र धार्मिक प्रतीक ल्याइएको तथा यसले मुक्तिनाथ र गण्डकी क्षेत्रको धार्मिक महत्वको प्रचारमा सहयोग पुग्ने उनको अपेक्षा छ । स्वामी कमलनयनाचार्य गण्डकी नदी र शालग्रामको सम्बन्धलाई नेपालको विशिष्ट धार्मिक पहिचानका रूपमा व्याख्या गर्छन् । विश्वका लाखौँ मन्दिर र करोडौँ हिन्दू परिवारमा पूजा गरिने शालग्राम शिला गण्डकी नदीले नै जन्माउने भएकाले यसको संरक्षण र प्रचार नेपालको महत्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ छ ।
‘जल हाम्रो सभ्यता, संस्कृति एवं जीवन हो । जल रहे हामी रहन्छौँ । यही सन्देश विश्वभर पु¥याउन पञ्चकोटमा विश्वशान्ति गण्डकी कलश निर्माणको अभियान थालिएको हो,’ स्वामी कमलनयनाचार्यको भनाइ छ ।
मुक्तिनाथ र त्रिवेणीधामजस्ता धार्मिकस्थललाई जोडेर पर्यटनको नयाँ सम्भावना विस्तार गर्न सकिने उहाँ बताउनुहुन्छ । गजेन्द्रमोक्ष धाममा भारतबाट पनि दैनिक कैयौँ तीर्थयात्री आउने गरेको उल्लेख गर्दै नेपालका धार्मिकस्थललाई अन्तरराष्ट्रिय रुपमा चिनाउनुपर्नेमा जोड दिन्छन् ।
स्वामी कमलनयनाचार्यले वैदिक सनातन साथै सर्वधर्म अनुयायीहरुलाई वैदिक दर्शनको मूल भावना विश्वकल्याण, दया, करुणा र मैत्री भएकाले त्यसैको प्रचारमा लाग्न आह्वान पनि गरे । ‘‘सर्वे भवन्तु सुखिनः, लोकाः समस्ताः सुखिनो भवन्तु’ अर्थात् सबै सुखी होऊन्, संसारका सबै प्राणी सुखी होऊन् भन्ने वैदिक मान्यतालाई उनले सनातन धर्मको मूल दर्शनका रूपमा लिन्छन् ।
गजेन्द्रमोक्ष धाम सर्वधर्म सम्प्रदायको साझा तीर्थस्थल भएको स्वामी कमलनयनाचार्यको धारणा छ । धार्मिक सहिष्णुता र सामाजिक सद्भावको महत्व औँल्याउँदै उनी धर्मका आधारमा विभाजित हुनुको सट्टा मानवताको मूल्यमा सबै जोडिनुपर्ने बताउँछन् । भोटेकोशी बाढीको क्षतिले आफूलाई गहिरो पीडा दिएको बताउँदै उनले प्राकृतिकलगायत विविध विपत्तिमा ज्यान गुमाएकाको आत्मशान्ति र सद्गतिको कामनासहित यस महायज्ञमा विशेष पितृमुक्ति अनुष्ठान गरिनेछ ।
मङ्सिर महिनाभर सञ्चालन हुने यस महायज्ञमा वेद, पुराण, उपनिषद् तथा वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान र हवनका अतिरिक्त पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजन र विशेष धान्याञ्चल अनुष्ठान गरिने भएकाले सहभागी भएर पुण्य आर्जन गर्न उनको आग्रह छ ।
महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर विश्वविद्यालय स्थापनाका अतिरिक्त हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण होस्, नेपालका तीर्थस्थलको प्रचार एवं नेपाल वैदिक ज्ञान तथा धार्मिक पर्यटनको अन्तरराष्ट्रिय केन्द्रका रूपमा स्थापित होस् भन्ने स्वामी कमलनयनाचार्यको धारणा छ । यी कार्यका लागि सरकार र निजी क्षेत्रको सहयोग निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।














