२५ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री बालेनलाई भारतीय राजदूतले दिए मोदीको सन्देश


प्रधानमन्त्री बालेनलाई भारतीय राजदूतले दिए मोदीको सन्देश

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश दिएका छन् । भारतीय राजदूत श्रीवास्तवले आज सोमबार बिहान प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश सुनाएका हुन् ।

भेटका क्रममा नेपाल र भारतवीचको बहुआयमिक तथा बलियो साझेदारीलाई थप प्रगाढ र सुदृढ बनाउने विषयमा फलदायी विचार विमर्श भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । प्रधानमन्त्रीसँगको भेटलाई उनले आफ्नो लागि सम्मानको विषय भएको बताएका छन् ।

प्रधानमन्त्री बनेपछि शाहले राजदूतसँग पहिलोपटक एक्लाएक्लै भेटवार्ता गरेका हुन् । यसअघि उनले कुनै पनि विदेशी राजदूतसँग यसरी एक्लाएक्लै भेट गरेका थिएनन् । एक पटक राजदूतहरुसँग सामूहिक भेट भने गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !