काठमाडौँ । प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन् ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा बोलेको विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिनुपर्ने र संसद्को रेकर्डबाट हटाउनु पर्ने माग दोहोर्याएका हुन् ।
विपक्षी दलका सांसदहरूले सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने बित्तिकै उठेर विरोध गरेपछि सभामुख अर्यालले विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक सांसदलाई बोल्न समय दिएका थिए ।
प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भारतको भूमि नेपालले मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको र यसले नेपालको सार्वभौमसत्तामाथि आँच पुर्याएको भन्दै उक्त भनाइ रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले सदनमा आएर प्रष्टीकरण दिनुपर्ने सांसदहरूले माग गरिरहेका छन्।
बैठकमा समय लिएर नेकपा (एमाले)का सांसद कृपाराम रानाले नेपालको नक्सामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराका बारेमा पछिल्ला दिनमा विभिन्न टीकाटिप्पणी भइरहेकाले स्पष्ट गर्न सरकारसँग अनुरोध गरे । एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल संसद्को रेकर्डबाट हटाउन माग गरे।
‘प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भन्नु सरासर राष्ट्रघाती हो,’ रानाले भने, ‘यस्तो अभिव्यक्ति संसद्को अभिलेखमा रहन मिल्दैन, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दाबीलाई कमजोर बनाउँछ।’
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले संसद्लाई व्यवस्थित, मर्यादित र नियमावलीबमोजिम सञ्चालन गर्ने सभामुखको इच्छाप्रति सम्मान गर्दै प्रधानमन्त्रीबाट जमिन मिचेको सन्दर्भमा यसअघि व्यक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।
श्रम संस्कृति पार्टीका ध्रुर्वराज राईले आफूहरुले उठाएका सवालमा सरकारले जवाफ नदिएको र सभामुखले पनि समाधानको विन्दु नखोजेको भनी आपत्ति व्यक्त गरे । सांसद राईले संसद्मा भइरहेको गतिरोध र प्रधानमन्त्रीको जवाफदेहिताको अभावप्रति आक्रोश व्यक्त गरे ।
उनले भने, ‘जनताले हामीलाई कुरीकुरी गरिरहेका छन्, प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म र यो समस्याको निकास नखोजेसम्म संसद् अन्धकारमा रहन्छ। संसद्लाई अब थप दुर्गन्धित नबनाऔँ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका खुश्बु ओलीले प्रधानमन्त्रीलाई आफ्नो त्रुटि सच्याउन आग्रह गरिन्। ‘नेपालले भारतको सीमा मिचेको छैन, यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ,’ ओलीले भनिन्, ‘नेताको शक्ति गल्ती स्वीकार गर्नुमा हुन्छ, त्यसैले प्रधानमन्त्रीले यो त्रुटि सच्याएर संसद्को गरिमा जोगाउनुपर्छ।’
सुनसरी र सिरहामा हालै भएको घटनामा मृतक र घाइते परिवारसँग भएका सहमतिको कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।













