काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले ड्युटीमा रहेका नेपाली सेनाका एक क्याप्टेनलाई हप्कीदप्की गरेको भिडियो भाइरल भएपछि उनको व्यापक आलोचना भइरहेको छ।
गोकर्णेश्वर नगरपालिका–४ स्थित सडकको ट्र्याक खोल्न जाँदा सोमबार सांसद पाण्डेले त्यहाँ खटिएका सैनिक क्याप्टेनसँग विवाद गर्नुका साथै उनलाई हप्कीदप्की गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।
ट्र्याक खोल्नुपर्ने ठाउँमा ब्यारेकको पर्खाल परेकाले त्यसलाई डोजर लगाएर भत्काउन सांसद पाण्डेले क्याप्टेनलाई निर्देशन दिएको भिडियोमा देखिन्छ। सेनाको यो प्रणाली ठाडै लत्याउँदै सांसद पाण्डेले लिखित आदेशबिना ब्यारेकको पर्खाल भत्काउन फिल्डमै गएर निर्देशन दिएको उक्त भिडिओमा देखिन्छ।
त्यसपछि ती सैनिक क्याप्टेनले आफूलाई लिखित आदेश चाहिने भन्दै चिठी माग गर्छन् । यसबारे प्रधानमन्त्री कार्यालय र सरोकारवाला निकायसँग छलफल गरेपछि नै पर्खाल भत्काउन डोजर लिएर गएको जानकारी आफूले पाएको उनले बताए ।
प्रधानमन्त्री बालेनका विश्वासपात्र र दाहिने हात रहेका सांसद पाण्डेले आफ्ना सैनिकलाई हप्कीदप्की गरेको भिडियोको विषयलाई बाहिर प्रकट नगरी भित्रि रुपमा नेपाली सेनाले आपत्ति जनाउँदै ‘गम्भीर रूपमा’ लिएको जनाएको छ । यसैवीच आज बिहान प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलवीच भेटवार्ता भएको छ ।
आज मंगलबार बिहान ११ बजेअघि प्रधानमन्त्री शाहलाई भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए । यही घटनापछि प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट हुनुलाई त्यसैको असर रहेको रुपमा पनि अर्थ्याइएतापनि यसबारे नेपाली सेनाले भने औपचारिक रुपमा मुख खोलेको छैन ।
प्रधानसेनापति सिग्देलले पाण्डेले गरेको हप्कीदप्कीको विषयलाई प्रधानमन्त्रीसमक्ष गम्भीर रूपमा उठाएका हुनसक्ने स्रोतको भनाइ छ । साथै आजै संसद बैठक शुरु हुनुभन्दाअघि सांसद पाण्डेलाई प्रधानमन्त्री कार्यालय बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले सोधखोज गरेका छन् ।
यस्तो छ हेर्नुहोस् भिडियो













