१९ श्रावण २०८३, मंगलबार

म मुस्लिमको छोरो हुँ, तर हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा छु : सांसद ताहिर अली भाट


ताहिर अली भाट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद भाटले यस्तो बताएका हुन् ।

यद्यपि उनले राप्रपाले मारकाटवाला हिन्दु राष्ट्र नचाहेको बताए । उनले सबै मिलेर जाने र एउटा पहिचानको लागि मात्र राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र मागेको बताए । राप्रपाले उठाउँदै आएको हिन्दू राष्ट्रको माग स्पष्ट पार्दै उनले भने, ‘म मुस्लिमको छोरो भएर हिन्दू राष्ट्रकै पार्टीमा छु। राप्रपाले मागेको हिन्दू राष्ट्र काटमार गर्ने होइन, बरु सबै धर्मबीच सद्भाव र सम्मान कायम गर्ने पहिचानका लागि हो।’

उनले विगतमा नेपाल हिन्दू राष्ट्र हुँदा पनि नेपाली मुस्लिमहरूले नेपाली टोपी र राष्ट्रिय झण्डासहित गर्वका साथ हज यात्रामा जाने गरेको स्मरण गरे। नेपालको इतिहासमा मुस्लिम समुदायले राष्ट्रिय अखण्डता र एकतामा सधैं योगदान दिएको उल्लेख गर्दै सांसद भाटले साम्प्रदायिक सद्भाव बिग्रन नदिन सबैलाई आग्रह गरे।

उनले भने, ‘सबै धर्मलाई सद्भाव देखाएर सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली छौँ। विश्वमा सबैको राष्ट्रहरू छ। अब क्रिश्चियनको छ, बुद्धको छ, सबै धर्महरूको राष्ट्र छ। डेढ अरब हिन्दुहरूको राष्ट्र छैन। म मुस्लिमको छोरा भएर म हिन्दू राष्ट्रकै पार्टीमा छु र यो पार्टीले मारकाटवाला हिन्दू राष्ट्र चाहेको छैन।’

धार्मिक ग्रन्थको व्याख्या गर्दै उनले भने, ‘गीतामा “वसुधैव कुटुम्बकम्” र “सर्वे भवन्तु सुखिनः” लेखिएको छ। यसले विश्वका सबै प्राणी एउटै परिवार हुन् र सबै सुखी हुन् भन्ने सन्देश दिन्छ। कतै पनि मुस्लिम सुखी नहून् भनेर लेखिएको छैन।’

भाटले कुरानको पनि चर्चा गरे। ‘कुरानमा “अल्हम्दुलिल्लाहि रब्बिल आलमीन” भनिएको छ, जसको अर्थ अल्लाह सारा संसारका मालिक हुन् भन्ने हुन्छ। त्यहाँ “रब्बिल मुस्लिमीन” (मुसलमानका मात्र मालिक) भनिएको छैन,’ उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !