काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा तराई–मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ । सुनसरीको कप्तानगन्जमा हालै भएको हिंसात्मक घटनाबारे गृहमन्त्री गुरुङले प्रधानमन्त्री शाहलाई आज गरेका हुन् ।
गत साउन १० गते राति कप्तानगन्जमा भएको घटना, त्यसपछि विभिन्न जिल्लाको स्थिति र सुरक्षा रणनीतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताइएको छ ।कप्तानगन्जमा दुई समुदायबीचको विवाद र झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर घटनास्थलमै एकजनाको मृत्यु भएको थियो ।
कप्तानगन्ज घटनामा घाइते भएका अरू दुईजनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । त्यसपछि सिरहाको गोलबजारमा तनाव हुँदा प्रहरीले चलाएको गोली लागेर अर्का एक व्यक्तिको मृत्यु भएको थियो । गृहमन्त्री गुरुङ दुई दिनअघि मात्र घटनास्थलबाट काठमाडौं फर्किएका थिए ।













