काठमाडौँ । मेहनत, दृढ इच्छाशक्ति र आधुनिक कृषि प्रविधिको उचित प्रयोग भयो भने स्वदेशमै माटो खोस्रेर आर्थिक रूपमा सबल बन्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन्— भोजपुर जिल्ला पौवादुङमा गाउँपालिका–३ का कृषक नवराज घिमिरे । आफ्नै माटोमा केही गर्ने सोचका साथ विक्रम संवत् २०७४ सालमा सुरु भएको उनको व्यावसायिक यात्रा आज स्थानीय स्तरमा मात्र नभई कृषि क्षेत्रमा लाग्न चाहने युवाहरूका लागि ठूलो प्रेरणाको स्रोत बनेको छ ।

कृषक घिमिरेले वि.सं. २०७४ मा ’अस्मीता कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरी करिब १ देखि २ लाख रुपैयाँको प्रारम्भिक लगानीबाट काम सुरु गरेका थिए । शुरुआतमा केवल ८ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेतीबाट यात्रा थालेको यो फार्मले आज १८ रोपनी क्षेत्रफल ओगटिसकेको छ । समयक्रमसँगै व्यावसायिक विस्तार गर्दै लगेका घिमिरेको फार्ममा हाल टमाटर, अकबरे खुर्सानी, मौसम अनुसारका हरियो तरकारी, कागती, सुन्तला, नास्पाती र एभोकाडो उत्पादन गरिन्छ । यसका साथै फार्ममा उन्नत जातका जर्सी गाई र विभिन्न जातका बाख्राहरू पनि पालिएको छ ।

फार्ममा उत्पादन बढाउनका लागि जैविक मलको प्रयोग, नियमित सिँचाइ र बोटबिरुवाको उचित हेरचाहमा विशेष ध्यान दिइएको छ । तरकारी, फलफूल र पशुपालनलाई एकीकृत रूपमा सञ्चालन गरिएकाले एकातिर उत्पादन लागत घट्न पुगेको छ भने अर्कातिर आम्दानीका स्रोतहरू पनि विविध बनेका छन् । यस फार्मले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वार्षिक करिब २०० जनालाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै हाल वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म खुद आम्दानी गरिरहेको छ। यसले स्थानीय कृषकहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्नसमेत महत्त्वपूर्ण भूमिका खेलेको छ ।

लोभलाग्दो सफलताका बाबजुद कृषि क्षेत्रमा विद्यमान विभिन्न चुनौतीहरूसँग घिमिरे अझै जुधिरहेका छन् । मुख्य समस्याका रूपमा सिँचाइ व्यवस्थापन रहेको छ, जसका लागि अझै पनि आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता छ। यसबाहेक मौसमको अनिश्चितता, समयमा गुणस्तरीय मल र बीउको अभाव, रोग तथा किराको प्रकोप र उत्पादित कृषि उपजको ढुवानी समस्या मुख्य चिन्ताका विषय बनेका छन्। यस्ता समस्याहरूको दिगो समाधानका लागि सरकारी तथा सम्बन्धित निकायबाट प्राविधिक सहयोग, सिँचाइको सुविधा र बजार व्यवस्थापनमा थप सहयोग आवश्यक रहेको सञ्चालक घिमिरे बताउँछन् ।

विभिन्न बाधा–अड्चनका बाबजुद ’अस्मीता कृषि तथा पशुपन्छी फार्म’ले मेहनत, लगनशीलता र आधुनिक सोचका साथ परम्परागत कृषि प्रणालीलाई सफल उद्यममा रूपान्तरण गरेर देखाएको छ। कृषि क्षेत्रलाई मर्यादित, व्यावसायिक र आत्मनिर्भर पेसाका रूपमा स्थापित गर्दै युवाहरूलाई आफ्नै देशमा उद्यमशील बन्न प्रेरित गर्ने कृषक नवराज घिमिरेको यो प्रयास साँच्चिकै प्रशंसनीय र अनुकरणीय छ ।













