१६ श्रावण २०८३, शनिबार

गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयो : गृहमन्त्री गुरुङ


सुधन गुरुङ

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्युु भएका गणेश यादवको परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् ।

लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गएराति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए ।

मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले बताए ।

मृतकका परिवारले राखेका- घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्नेलगायत मागमा सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए ।

यसबाहेक सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गरिने, परिवारका सदस्यलाई रोजगारीको सुनिश्चितता गरिने सहमति भएको उनले बताए ।

गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्दैे गृहमन्त्री गुरुङले घटनामा दोषीलाई कारबाही गरिने बताए । सुनसरीको देवानगन्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !